धनगढी – चैतन्य पाठशाला धनगगढीले पाँच दिने योग शिविरको आयोजना गरेको छ । पतन्जली योग समिति कैलालीको हातामा शिविर आयोजना गरिएको हो ।
बिहिबारबाट सुरु भएको शिविर २२ गतेसम्म चल्ने पाठशालाका प्राचार्य हरि जोशीले बताए । पतन्जली योग समितिका केन्द्रीय मुख्य प्रभारी लवदेव मिश्र, प्रदेश प्रभारी काशीनाथ भट्ट लगायतले कार्यक्रममा योगको उपयोगिता र प्रभावकारीता बारे धारणा राखेको जोशीले बताए ।
शिविर प्रत्येक दिन बिहान ५ बजेदेखि ७ बजेसम्म सञ्चालन हुने छ । ‘स्वस्थ जीवनका लागि योगको ठूलो महत्त्व छ । हामीले नियमित योगाभ्यास ग-यौं भने स्वस्थ रहन्छौं । व्यवहारिक हिसाबले शरीर, मन र भावनालाई सन्तुलित गर्ने र तालमेल मिलाइराख्ने एक साधन हो, योग । यस्तो योग आसन, प्राणायाम, मुद्रा बँध र षट्कर्म एवं ध्यानको अभ्यासबाट प्राप्त हुन्छ । योगले शरीरको अंग, मांशपेशी, नसालाई चुस्त र तन्दुरुस्त राख्ने काम गर्छ । त्यसैले हामीले योग शिविरको सञ्चालन गरेका हौं,’ जोशीले भने ।
शारीरिक एवं मानसिक उपचारमा योग सर्बोत्तम बिकल्प भएको उनको भनाइ छ । मधुमेह, उच्च रक्तचाप, दम, युरिन एसिड, पाचन विकार, बाथ जस्ता रोगको नियन्त्रण एवं निदानका लागि योग अपरिहार्य रहेको र मानसिक तथा शारीरिक विकार हटाएर शरीरलाई स्वस्थ्य बनाउन योगले महत्वपूर्ण काम गर्ने उनले बताए ।
शिविरमा योग गुरुहरू गौरी नाथ, सुबासको उपस्थिति रहेको थियो । यसका साथै शिविरमा अभिभावक, स्थानीय, शिक्षक र विद्यार्थी सहभागी रहेका छन् ।