दार्चुला – दार्चुलामा चिसो छल्न बेसी झरेका भेडीगोठ माथि लेकतिर उक्लिन सुरु गरेका छन । बेसीतिर गर्मी सुरु भएपछि हिमाली भेगतिर भेडीगोठ सर्न थालेका हुन । भेडाच्यांग्रा व्यवसायी बथानसहित तल्लो भेगबाट माथिल्लो चरन क्षेत्रमा गोठ लैजान थालेका छन ।
अहिलेदेखि बर्खाभरिको खाद्यान्न बोकेर भेडाच्यांग्रासहित माथि लेकतिर जान थालेको व्यास गाउँपालिका–६ का काशीसिंह धामीले बताए । उनले तल्लो चरन क्षेत्रमा घाँस पाइन छाडेको र गर्मी पनि बढेपछि माथि लेकतिर जान थालेको बताए । यो वर्ष लेकाली भेगमा हिमपात नभएकाले चरनका लागि सजिलो हुने उनको भनाइ छ ।


गर्मी मौसम सुरु भएदेखि यतिबेला उच्च हिमाली भेगका चरन क्षेत्रमा गोठालाले आफ्ना भेडाका बथान लैजान थालेका हुन । १ सय ८५ को संख्यामा भेडाच्यांग्राको बथानसहित दुहु गाउँपालिका–२ का पर्मल कार्की थाइसैन पाटनतिर हिँडेका छन ।
कात्तिक अन्तिमतिर हिमाली भेगबाट चिसो छल्न बेसी झरेका भेडीगोठ पुनः लेकतिर पुग्न थालेका छन । यो क्षेत्रका मानिसहरूको पुर्ख्यौली चलन तथा पेसाका रूपमा भेडीगोठलाई हेरिन्छ ।बेसीबाट दुई साताअघि लेकतिर हिँडेको र अहिले आधा बाटोमा पुगेको कार्कीले बताए ।
त्यस्तै, एक हप्ता अगाडि व्यास गाउँपालिका–५ का सुन्दरसिंह धामी बस्ती नजिक रहेको भेडीगोड लगेर लेकतिर हिँडेका छन । करिब डेढ सय भेडाबाख्रामा केही महिनाको रासन बोकेर हिँडेको उनले बताए ।

मध्ये चैतबाट जडिबुटी टिप्ने मानिसको रासन बोक्न सुरु हुने बेला भएकाले राप्ला, दुम्लिङ क्षेत्रमा भेडाच्यांग्रा चराउन पुगेका छन ।