डडेल्धुरा – डडेल्धुराका किसानले किवी फल बिक्री गरी मनग्य आम्दानी गरिरहेका छन् । किबीबाट किसानले वार्षिक लाखौँ रकम आम्दानी गर्न सफल भएका छन् ।

जिल्लाको गन्यापधुरा, आलिताल गाउँपालिका र अमरगढी नगरपालिकाका केही गाउँमा व्यावसायिक रूपमा किवीखेती गर्न थालिएको छ । अमरगढी नगरपालिका–१ दहका गणेशबहादुर ऐरले ३० लाख रुपैयाँको लगानीमा १० रोपनीमा किवीखेती गरेका छन् ।


वार्षिक ४० क्विन्टल किवी उत्पादन गरी पर्याप्त आम्दानी गरिरहेको उनी बताउँछन । पहाडी भूगोलको किवी बढी गुणस्तरीय हुने भएकाले डडेल्धुराको किवी तराई र काठमाडौंसम्म बिक्री भइरहेको छ । तर किसानलाई उत्पादन भएको किवी भण्डारण गर्न समस्या भएको छ । भण्डार समस्याबाट जिल्लाका करिब ६० किसान मर्कामा परेका छन ।

जिल्लामा एउटा मात्र शीतभण्डार छ । त्यसमा पनि आलु भण्डारण गर्ने गरिएको छ । शीतभण्डारका लागि कृषि ज्ञान केन्द्र डडेल्धुराले सुदूरपश्चिम प्रदेशको कृषि मन्त्रालयसित छलफल गरिरहेको छ । डडेल्धुरामा किवी भण्डारणका लागि शीतभण्डार निर्माणको पहल भइरहेको कृषि ज्ञान केन्द्र डडेल्धुराका कार्यालय प्रमुख रामचन्द्र भट्टले जानकारी दिए ।
डडेल्धुराबाट उत्पादन हुने किवी फलको बजार खुद्रा मूल्य प्रतिकिलो ५०० रुपैयाँ छ । अहिले २५० देखि ३०० सम्ममा बिक्री भइरहेको किसान वेदप्रकाश भट्टले बताए ।