अत्तरिया – १३ औं डडेल्धुरा जिल्लास्तरीय राष्ट्रपती रनिङ शिल्डको उपाधी परशुराम नगरपालिकाले जितेको छ । डडेल्धुरा जिल्ला खेलकुद समितिको आयोजनामा भएको प्रतियोगिताको उपाधी परशुरामले जितेको हो ।

प्रतियोगितामा परशुरामले २४ स्वर्ण, ६ रजत र ७ कास्य गरि जम्मा ३७ पदक जितेको थियो । परशुराम गाउँपालिकाको तर्फबाट भुवनेश्वरी नमुना मावि परिगाउँले मात्रै सबैभन्दा बढी १७ स्वर्ण जितेको थियो ।


विद्यालयका प्रधानाध्यापक डम्मर सिंह थ्वालले नमुना विद्यालयले नमुना कै रुपमा प्रतियोगितामा आफूलाई प्रस्तुत गरेको बताए । उनका अनुसार भूवनेश्वरीबाट यसअघि पनि ३ खेलाडीले राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको राष्ट्रिय खेलमा सहभागिता जनाइसकेका छन् ।

प्रतियोगितामा अजयमेरु गाउँपालिकाले दोस्रो स्थान हासिल गरेको छ । द्धितिय स्थान हासिल गरेको अजयमेरु गाउँपालिकाले ११ स्वर्ण, १४ रजत र ७ कास्य गरि ३२ पदको जितेको छ भने तितृय स्थान हासिल गरेको आलिताल गाउँपालिकाले ५ स्वर्ण, ५ रजत, ७ कास्य संगै १७ पदक हात पारेको छ । प्रतियोगिता डडेलधुराको टुडिखेलमा सम्पन्न भएको थियो ।
जिल्ला छनोट प्रतियोगितामा छनोट भएका खेलाडी जिल्लाको प्रतिनिधित्व गर्दै प्रदेश स्तरीय छनौट प्रतियोगितामा सहभागी हुनेछन् भने प्रदेशमा छनौट हुँदै प्रदेशको प्रतिनिधित्व गर्दै राष्ट्रिय स्तरीय प्रतियोगितामा सहभागी हुने छन् ।
प्रतियोगितामा जिल्लाका ७ वटै पालिकाका खेलाडीको सहभागिता रहेको थियो । राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको प्रदेशस्तरीय खेल धनगढीमा हुने छन् ।