अत्तरिया – सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने आज अन्तिम दिन हो । गत पुस २७ गते मुख्यमन्त्री नियुक्त भएका रावलले मुख्यमन्त्रीमा कायम रहन आज विश्वासको मत लिनुपर्ने हुन्छ । मुख्यमन्त्रीमा नियुक्त भएको ३० दिनभित्र विश्वासको मत लिइसक्नुपर्ने संवैधानिक व्यवस्था छ ।
बुधबार नै प्रदेशसभाबाट विश्वासको मत लिने तयारी गरिएको भएपनि नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने संकेत गरेपछि प्रदेश सभा बैठक नै स्थागित गरिएको थियो ।
मुख्यमन्त्री राजेन्द्र सिंह रावलले विश्वासको मत लिने भनिएको बुधबारको बैठक स्थगित भएपछि आज विश्वासको मत लिने अन्तिम दिन पुनः बैठक बोलाइएको छ । प्रदेश सभा सचिव देव बहादुर बोगटीले सभामुखको आदेशानुसार बिहिबार दिउँसो १ बजे बस्ने गरी बैठक बोलाइएको बताएका छन ।
नागरिक उन्मुक्ति पार्टीले विश्वासको मत नदिने अडान कायमै राखेपछि नेकपा एमाले प्रदेश सभा संसदीय दलका नेता रावल नेतृत्वको सरकार संकटमा परेको छ ।
एमालेसहित नेकपा (माओवादी केन्द्र), नागरिक उन्मुक्ति पार्टी र राप्रपाको समर्थनमा उनी मुख्यमन्त्रीमा नियुक्त भएका थिए । ५३ सदस्यीय प्रदेशसभामा कुनै पनि दलको एकल बहुमत छैन । मुख्यमन्त्रीलाई बहुमत सिद्ध गर्न २७ मत आवश्यक पर्छ ।
प्रदेशसभामा नेकपा एमालेका १०, नेकपा (माओवादी केन्द्र) का सभामुखबाहेक १०, नागरिक उन्मुक्तिका ७ र राप्रपाका १ सांसद छन । त्यस्तै हाल विपक्षमा रहेको नेपाली कांग्रेसका १९, नेकपा (एकीकृत समाजवादी)का ४ र १ स्वतन्त्र सदस्य छन् ।