रानाथारू समुदायमा होरी पर्वको चहलपहल सुरु

धनगढी – रानाथारू समुदायको होरी पर्व सुरु भएको छ । माघ पूर्णिमाका दिन आइतबार राति होलिकाको पूजाअर्चनापछि होरी पर्व सुरु हुन्छ । रानाथारू समुदायका मानिसले एक महिना आठ दिनसम्म होरी पर्व मनाउने गर्छन् ।

maya metro hospital

रानाथारू समुदाय सम्बन्धी जानकार नारायण रानाका अनुसार माघ पूर्णिमाको दिन आकाशमा पूर्णिमा देखिएपछि सार्वजनिक स्थानमा होलिकाको प्रतिमा स्थापना गरेर पूजा हुने गरेको छ । गाउँका भर्रा (गुरुवा)ले भलमन्सा, गाउँका युवा, बुद्धिजीवी लगायतको उपस्थितिमा होलिकाको पूजाआजा गर्ने गर्छन् । पूजाआजापछि होरीको गीत गाउँदै केहीबेर होरी खेलिन्छ । त्यसै बेलाबाट जिन्दा होरी सुरु हुने गर्छ ।

joshi vada pasal 2

अब फागु पूर्णिमाको दिन एक महिनासम्म ‘जिन्दा होरी’ खेलिने जनाइएको छ । जिन्दा होरी अवधिभरि रानाथारू समुदायका युवायुवती लगायतले राति मात्रै होरी खेल्ने (होरी नाच देखाउने) रानाले बताए ।

उनीहरूले होरी गीत गाउँदै तालमा ताल मिलाएर नृत्य गर्ने गर्छन् । साथै, हरेक साँझ होलिकाको पूजाआजा गर्दै त्यसमा पराल, झारपात थुपार्ने जनाइएको छ । यसरी थुपारिएको झारपातलाई होलिकाका रूपमा दहन गर्ने गरिन्छ । फागु पूर्णिमाको दिन होलिका दहनपछि ‘मरी होरी’ सुरु हुन्छ ।

मरी होरीको अवधि आठ दिनसम्म रहने गरेको जनाइएको छ । यो अवधिमा आफ्ना आफन्त, नातेदार, मितलाई घरमा बोलाएर भोजभतेर गर्ने चलन रहेको छ । जसलाई ‘हट्कना’ भन्ने गरिएको छ । हट्कनामा भिनाजु, मित, सालासालीलाई घरमा डाकेर मासु, भातसहितका मीठा–मीठा पाकवान खुवाउने चलन रहेको रानाले बताए ।

होरीको अन्तिम दिनमा खख्डेहरा फुटाउने गरिन्छ । खख्डेहरा सबैभन्दा महत्वपूर्ण दिन भएकाले सुदूरपश्चिम प्रदेश सरकारले यो दिन सार्वजनिक बिदासमेत दिँदै आएको छ ।

खख्डेहरापछि औपचारिक रूपमा होरी पर्व समापन हुने गरे पनि अनौपचारिक रूपमा भने चराँई पर्वसम्म होरी खेलिने गरेको रानाले बताए । उनले भने ‘चराँई चैत शुक्ल चतुर्थीका दिन परेको छ र कतै–कतै अनौपचारिक रूपमा यही दिनसम्म होरी खेलिन्छ ।’ सुदूरपश्चिम प्रदेशको कैलाली, कञ्चनपुरमा रानाथारू समुदायको बसोबास रहेको छ ।

 

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.