दार्चुला – जिल्ला कारागार दार्चुलामा क्षमताभन्दा बढी कैदीबन्दी हुँदा व्यवस्थापनमा समस्या भएको छ । ४० कैदीबन्दीको क्षमता रहेको कारागार हाल ६४ कैदीबन्दी राखिएको छ । क्षमताबन्दा बढी कैदीबन्दी राखिँदा उनीहरुलाई बस्न समस्या भएको जिल्ला कारागारका जेलर रामराज पन्तले बताए ।
उनका अनुसार २५ पुरुष र १५ महिला कैदीबन्दी राख्न उक्त कारागार बनाइएको हो । ‘पच्चीस पुरुष कैदीबन्दी राख्ने ठाउँमा ६१ जना राख्नुपरेको छ’, उनले भने । यस्तै १५ महिला कैदीबन्दीको क्षमता रहेको कारागारमा हाल ३ जनामात्रै छन् । हाल कारागारमा सबैभन्दा बढी जबरजस्ती करणी मुद्दाका १९ कैदीबन्दी छन् । कर्तव्य ज्यान मुद्दाका १४ पुरुष कैदी रहेको जेलर पन्तले बताए ।
यस्तै चोरी डकैती मुद्दाका २ पुरुष, बहुविवाह मुद्दाका १ महिला र १ पुरुष, बालविवाह मुद्दाका १ पुरुष, चोरी मुद्दाका ७ कैदी र १ थुनुवा, बन्यजन्तु ओसारपोसारका ३ कैदी र बन्दी तथा लागूऔषध मुद्दाका १ कैदी (पुरुष) र १ बन्दी (पुरुष) रहेका प्रमुख पन्तले बताए ।
यसैगरी जबरजस्ती करणी, बालविवाह मुद्दाका १ पुरुष कैदी, बहुविवाह मुद्दाका २ पुरुष र १ महिला, व्यक्ति बेपत्ता मुद्दाका १ महिला र एक पुरुष कैदी र आत्महत्या दुरुत्साहन मुद्दाका १ पुरुष कैदी जेलमा रहेका छन् ।
रासस