अत्तरिया – कृष्णपुर नगरपालिकाका किसान नवराज ओझा हिउँदे बाली गहुँ र बर्षे बालि धान खेती मात्रै गर्दै आइरहेका थिए । तर, गत बर्ष नगरपालिकाले चैते धान खेती गर्ने किसानलाई प्रोत्साहन गर्न कार्यक्रम ल्याएको थाहा पाए । त्यसपछि उनले नगरपालिकाबाट चैत धान खेती गर्नको लागि ८० प्रतिशत अनुदानमा धानको बीउ लिएर पहिलो पटक खेती गरे । जसबाट उनले सोचे भन्दा राम्रो सफलता पाए । समैजी बहुउद्देश्यिय सहकारीका सदस्य रहेका ओझाले गत बर्ष डेढ विगाहामा चैते धान खेती गरेका थिए ।

‘आम्दानी राम्रो नै भएको थियो । खल्ला खेत भएको ठाउँमा गहुँ खेती गर्न मिल्दैन त्यस्तो ठाउँमा चैते धान झनै उपयुक्त हुने रहेछ’ उनले भने ‘गत बर्ष डेढ विगाहामा ५० क्विन्टल धान फलेको थियो । राम्रो उत्पादन भएपछि मैले नै नगरपालिकामा यस बर्ष पनि धानको उन्नत बीउ उपलब्ध गराउनु प¥यो भनेर झकझक्याए । यस बर्ष पनि समयमै बीउ उपलब्ध भएको छ ।’

उनले यस बर्ष अढाई विगाहामा चैते धान खेती गर्नको लागि बीउ लिएको बताए । उनले असारे धान भन्दा चैते धानबाट राम्रो उत्पादन हुने गरेको बताए ।

कृष्णपुर नगरपालिकाले आर्थिक बर्ष २०७६/७७ देखि चैते धान खेतीको कार्यक्रम सुरु गरेको थियो । जसका लागि नगरपालिकाले अनुदानमा धानको बीउ र प्राविधिक सहयोग गर्नै आइरहेको छ ।
नगरपालिकाका कृषि प्राबिधिक गणेश ओझाले खेर गएको चैत देखि असार सम्मको समयलाई सदुपयोग गरी धान खेतीको क्षेत्र र उत्पादन विस्तार गर्नको लागि कार्यक्रम संचालन गरिएको बताए । उनले चैते धानबाट प्रतिहेक्टर ३ मेट्रिक टन धान उत्पादन हुने गरेको बताए ।
‘हामीले उन्नत जातको बीउ वितरण गर्ने गरेका छौ । यस बीउबाट सामान्य बीउभन्दा २० देखि २५ प्रतिशत बढी उत्पादन हुन्छ’ उनले भने ‘गत बर्ष हर्दिनाथ र सुख्खा – ३ जातको धानको बीउ वितरण गरेका थियौ । यो बर्ष चैते– ४ जातको धानको बीउ वितरण गरेका छौ ।’
उनले किसानहरु यो कार्यक्रमबाट निकै खुसी भएको बताए । उनले चैते धानको खेतीबाट किसानहरुको आयआर्जन बढेको बताए । ‘यो बर्ष १७ जना किसान उद्यमी र समुहलाई ५४६ किलोग्राम धानको बीउ वितरण गरेका छौ यसको माग बढेमा थप बीउ अझै पनि दिन सकिन्छ’ उनले भने ‘गत बर्ष १० जना किसान र समुहमा चैते धानको खेती गरिएको थियो ।’
उनले धान संगै किसानहरुलाई मकैको बीउ पनि ८० प्रतिशत अनुदानमा वितरण गरिएको बताए । उनले चैते धान संगै २२ जना किसान र समुहलाई ४९५ किलो मकैको बीउ वितरण गरिएको बताए ।
नगरउपप्रमुख द्रोपती रानाले चैते धानको कार्यक्रमलाई सफल पार्न समयमा नै बीउ उपलब्ध गराइएको बताइन् । उनले धानको बीउका लागि थप माग आएमा पुनः किसानलाई दिन सकिने बताइन् ।
वडा नम्बर ९ का वडाध्यक्ष कैलाश बहादुर बलायरले नगरपालिकाले तरकारी, बगर खेती, अन्न बालिका बीउ अनुदानमा वितरण गरिहेको बताए । उनले नदीले खेत बगाएर बगर बनाएको क्षेत्रमा पनि तरकारी बीउ वितरण गरिरहेको बताए । उनले किसानहरुलाई नगरपालिकाबाट पाएको सेवाको सही सदुपयोग गर्न आग्रह गरे ।
चैते धान खेती गर्ने किसान धर्मानन्द भट्टले भने किसानलाई बीउ संगै प्राविधिक ज्ञान दिन आवश्यक रहेको बताए । उनले चैते धानमा बढी भुस आएकाले त्यसको सहयोगका लागि किसानलाई प्राबिधिक ज्ञान आवश्यक रहेको बताए ।
‘खै मैले राम्रो नै खेती गरेको थिए । तर गत बर्ष २ किलो चैते धानको बीउ रोप्दा ४ बोरा मात्रै धान फल्यो’ उनले भने ‘यस बर्ष पनि म चैते धान खेती गर्दै छु । तर, त्यसअघि मलाई प्राविधिक सहयोग आवश्यक छ ।’ उनले आफूले कृषि कार्यालयलाई धानमा भुस हुनको कारण पत्ता लगाइदिन आग्रह गरेको बताए ।