कञ्चनपुर – भीमदत्त नगरपालिका ११ भुजेलास्थित महाकाली नदीमा फसेका २० जना मजदुरको प्रहरीले सोमबार सकुशल उद्धार गरेको छ ।

जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरीक्षक चक्रबहादुर शाहका अनुसार नदीबाट बालुवा गिट्टी ल्याउँदै गरेका आठवटा ट्रयाक्टर, चालक र मजदुर वनवसा स्थीत महाकाली नदीको व्यारेजबाट पानी छोडदा वहाव बढेसँगै नदीमा फसेका हुन् ।

नदीको बीच भागमा फसेका मजदुर, चालकलाई इलाका प्रहरी कार्यालय गड्डाचौकीबाट गएको प्रहरीको टोलीले उद्धार गरेको उनले बताए ।

‘वनवासा पुलसँग समन्वय गरी व्यारेजका ढोकाहरु बन्द गर्न लगाई जेसिवि मेसिनको सहायताले उद्धार गरेका छौं’ उनले भने ‘समयमै उद्धार गर्दा मानवीय क्षति हुनबाट जोगिएको छ ।’
