अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेमा गौशाला निर्माण गर्ने संकल्पका साथ आइतबार देखि महायज्ञ सुरु भएको छ । हिन्दु धर्मावलम्बिहरुले पुजा गर्ने गाई सडकमा बेवारिसे अवस्थामा पुगेपछि धार्मिक कार्यबाटै गाईको संरक्षण गर्नुपर्छ भन्ने उद्देश्यका साथ सप्ताह ज्ञान महायज्ञ सुरु गरिएको हो ।

उक्त महायज्ञबाट संकलित रकमबाट गौशाला निर्माण गर्ने महायज्ञ व्यवस्थापन समितिले जनाएको छ । महायज्ञमा गौमाताको महत्तको बारेमा जानकारी दिनुका साथै त्यसको संरक्षणका लागि भक्तजनहरुलाई उत्प्रेरित गरिने महायज्ञ व्यवस्थापन समितिका संयोजक गोपाल देउवाले बताए । उनले अहिले पनि दुध दुहेर सडकमा गाईलाई छोड्ने क्रम नरोकिएकाले गाईहरुको दुरावस्था रहेको बताए । ‘अहिले पनि दुध दोहेर सडकमा छोड्ने गर्दा तिनै गाइगोरुले किसानको बारीमा लगाएको बालि खाने समस्या भएकातिर छ भने अर्कोतिर गौ माता भनेर पुजा गर्ने गाई सडकमा पीडामा हुनु दुःखद कुरा हो’ उनले भने ‘यस्तो अवस्थामा रहेका गाइको संरक्षणका लागि हामीले यो अभियान सुरु गरेका हौ ।’

उनले ओझेलमा परेको भूमिलाई पवित्र बनाउन पनि महायज्ञले भूमिका खेल्ने बताए । ‘यो क्षेत्र ओझेलमा पर्दै आएको थियो’ स्याउले बजार व्यवस्थापन समितिका अध्यक्ष समेत रहेका देउवाले भने ‘हामीले यस क्षेत्रको प्रचारप्रसारका लागि यसै मन्दिरमा गौरी मेला, तिज मेला पनि आयोजना गर्दै आएका छौ । आज यो ठाउँमा महायज्ञको पनि सुरु गरेका छौ ।’ उनले महायज्ञ सफल पार्नको लागि सबै क्षेत्रबाट सहयोग गरिदिन आग्रह गरे । उनले महायज्ञले सुरु गरेको अभियानलाई प्रदेश सरकारले पनि सहयोग गर्ने आशा आफूहरुले लिएको बताए ।

सुदूरपश्चिम प्रदेश प्रमुख देव राज जोशीले गौ सरक्षणका लागि महायज्ञ गरिनु आफैमा उत्कृष्ट कार्य भएको बताए । उनले सरक्षण नहुँदा अहिले गौ माताको दुरावस्था भएको बताउँदै गाईको संरक्षणका लागि सबैक्षेत्रबाट जुट्न आवश्यक रहेको बताए ।
‘हामीले गौ माताले दुध दुहिन्जेल सम्म घाँसपात गरेर उसबाट दुध लिने गर्दैछौ । जव उहाँले दुध दिन छोड्नुहुन्छ, त्यसपछि सडकमा धपाउने गर्छौ’ उनले भने ‘त्यसले गर्दा अहिले गौमाताको ठूलो दुरावस्था भएको छ । पर्कारान्तले त्यो दुरावस्था हाम्रो हो । अहिले गौमाताको दुरावस्था देखिएपनि दिर्घकालिन रुपमा हाम्रै दुरावस्था हुन्छ ।’
उनले आफू प्रदेश प्रमुखका रुपमा रहुन्जेल सम्म गौशाला निर्माणका लागि सुरु गरिएको अभियानमा सहयोग गर्न पहल गर्ने बताए ।
‘प्रदेश प्रमुखको कार्यालय अन्तरगत बजेट नहुने भएपनि मैले कुन–कुन मन्त्रालयमा भनेर हुन्छ म सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्न चाहन्छु’ उनले भने ‘म तपाईहरुको अभियानका साथमा रहने छु ।’
महायज्ञ स्याउले बजारमा रहेको विश्वनाथ महादेव मन्दिरमा सुरु गरिएको छ । महायज्ञको आइतबार एक कार्यक्रमका बीच सुदूरपश्चिम प्रदेश प्रमुख देव राज जोशी उद्घाटन गरेका थिए ।
महायज्ञमा अच्युत शरण महाराजले प्रवचन गर्ने छन् । उनले हिन्दु धर्मावलम्बिहरुले पुजा गर्ने गाइहरु अहिले सडकमा रोइरहेको बताए । ‘सडकमा हिडिरहेका गाइमाथि तातोपानी खन्याइएको छ । हसियाले हानीएको छ’ उनले भने ‘अझै केही बिग्रिएको छैन । सबैले साथ दिनुस् । अझै पनि यसको संरक्षणमा जुटौ । समाजमा कोट, पाइन्ट, टाइ लगाएर हिड्नेले धर्म संस्कृति भुल्दै गएको देख्दा दुःख लागेको छ ।’
उनले धर्मको लागि राजनीति नगर्न आग्रह गरे । महायज्ञ २२ गतेसम्म संचालन गरिने आयोजकले जनाएको छ ।
