बैतडी – बैतडीमा मकैको उत्पादन बढेको छ । कृषि ज्ञान केन्द्र बैतडीको तथ्याङ्क अनुसार जिल्लामा २०७७/७८ मा २० हजार १५९ मेट्रिकटन उत्पादन भएकोमा गत आर्थिक वर्ष २०७८/७९ मा २१ हजार ९६० मेट्रिकटन मकै उत्पादन भएको हो । जिल्लामा आर्थिक वर्ष २०७६/७७ मा १९ हजार ४६४ मेट्रिकटन मकै उत्पादन भएको थियो ।

जिल्लामा मकै खेतिका लागि क्षेत्रफल नबढेपनि उत्पादकत्व बढ्दै गएको कृषि ज्ञान केन्द्र बैतडीका कृषि अर्थ विज्ञ मिलन कडेँलले जानकारी दिए । क्षेत्रफल यथावत रहेको र पछिल्लो समय उत्पादकत्व भने बढेको पाइएको उनले बताए ।

यो वर्षको तथ्याङ्क आइनसकेको र यो वर्ष पनि मकै उत्पादनमा वृद्धि हुने अनुमान गरिएको कृषि ज्ञानकेन्द्र बैतडीले जनाएको छ । किसानहरुले उन्नत जातको बिउको प्रयोग गरिरहेकाले उत्पादन बढेको कृषि ज्ञान केन्द्र बैतडीले जनाएको छ ।

बैतडीको १२ हजार २ सय हेक्टर क्षेत्रफलमा मकै खेति गरिन्छ । बैतडीको सबै ठाउँमा मकै खेती हुने गरेको भएपनि जङ्गली जनावरका लगायत विभिन्न प्राकृतिक विपद्का कारण उत्पादन अपेक्षा ढंगले बढ्न सकिरहेको छैन् । जिल्लाका कतिपय ठाउँका खेतहरु बाँदर , दुम्सी बदेंल लगायतका जंगली जनावरका कारण किसानहरुले बाँझै छाड्नु पर्ने बाध्यता छ ।