सुदूरपश्चिम – सिराहाका प्रभुराम महरालाई आकर्षक मूर्ति बनाउन थालेको दुई दशकभन्दा बढी भयो । मूर्ति बनाउने सीप र कला भएमा राम्रै आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण उनले दिइरहेका छन । ‘कालिगड’ अर्थात् मूर्तिकार महराको कला र सीपको विभिन्न जिल्लाबाट माग भइरहँदा मूर्ति बनाउनमा उनको व्यस्तता पनि बढ्ने गर्दछ ।

‘आफ्नो जिन्दगी मूर्ति बनाउनमै रमाएको छ’, धनगढीको हसनपुरमा रहेको बाल उद्यान परिसरमा मूर्ति बनाउँदै गरेका बेला भेटिएका महराले भने, ‘आफूले बनाएको मूर्ति मान्छेले मन पराउँदा सन्तुष्टिसँगै आम्दानी पनि भइरहेको छ ।’ उनले बाल उद्यान परिसरमा शिवलिङ्ग, श्रीकृष्ण, सरस्वती, गाई र हात्तीको मूर्ति बताएका छन ।

मूर्ति तयार गरेबाफत त्यसको आकार र उचाइअनुसारको ज्याला लिने गरेको उनले बताए । बाल उद्यानमा बनाइएका शिवलिङ्ग, सरस्वती, श्रीकृष्ण, गाई र हात्तीको मूर्तिबाट मात्रै उनले ५ लाख ५० हजार पारिश्रमिक पाएका छन । सिराहाको लहान नगरपालिका घर भएका ४७ वर्षीय महरा मूर्ति बनाउन नेपालका विभिन्न जिल्ला पुग्छन ।

विद्यालय पढ्दाको उमेरमा पाठ्यपुस्तकका चित्र देखेर आफूलाई सानै उमेरदेखि मूर्ति बनाउने इच्छा जागेको अनुभव उनले सुनाए । उनले भने ‘सुरुका वर्षमा आफ्नै घरमा बनाएको बालबालिकाका माटोका खेलौनाका मूर्ति देखेर छरछिमेकीले मन पराउँदा आफूमा मूर्ति बनाउने उत्साह जाग्यो, त्यसपछि बिस्तारै विभिन्न देवीदेवताका मूर्ति बनाउँदै जाँदा आफूलाई छिमेकीहरुले सिपालु ‘कालिगड’ भन्न थाले ।’
मूर्ति बनाउने पेसाबाट आम्दानी बढ्न थालेपछि उनले आफ्ना दुई छोरा रामानन्द र रामसेवकलाई पनि यसै पेसामा लगाएका छन । उनका भाइ सत्यनारायण चित्रकलामा लागेका छन । मूर्तिकार प्रभुरामकै प्रेरणा र हौसलाबाट डोटीका भरत साउद मूर्ति बनाउन सिक्दै छन् । ‘उहाँसँगै आफू पनि मूर्ति बनाउने काममा लाग्दा आम्दानी भइरहेको छ’ साउँदले भने ‘सीप र कलालाई समाजमा देखाउन सकेमा हुने आम्दानीले जीविकोपार्जन गर्न सहज हुनसक्छ भन्ने अनुभव भएको छ ।’
नेपालको पूर्वी तराईका जिल्लामा सफल ‘कालिगड’का रुपमा परिचय बनाएका प्रभुरामलाई मूर्ति बनाउन भारतका विभिन्न क्षेत्रबाट समेत बोलावट हुने गरेको छ । कैलालीको गोदावरी धाममा केही वर्षअघि बनेको ५४ फिट अग्लो हनुमानको मूर्ति पनि आफुले बनाएको बताए । विगतमा जीर्ण र बेवारिसे बनेको बाल उद्यानको संरक्षण एवं विकास गर्ने जिम्मेवारी धनगढी उपमहानगरपालिका कार्यालयले ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालयलाई दिएपछि उद्यानको पहिलेको तुलनामा स्वरुप फेरिएको छ ।
विश्वविद्यालयको पहलमा बनाइएको गुरुयोजना बमोजिम उद्यानलाई शान्ति बाल उद्यानका रुपमा विकास गर्न लागिएको छ । उद्यानमा बालबालिकाका लागि आवश्यक खेलकुद सम्बन्धी विभिन्न संरचना, फूलको बगैँचा, सभा भवन, देवीदेवताका मूर्तिका साथै मानिसको चरित्र निर्माणका लागि वास्तु विज्ञानले निर्दिष्ट गरे अनुसारको ध्यान कक्ष लगायतका संरचना निर्माण गरिएको छ ।
ब्रह्मकुमारी ईश्वरीय विश्वविद्यालय धनगढीका लक्ष्मीराज जोशीले उद्यानको स्वरुप फेरिएर सञ्चालनमा आएसँगै बालबालिकामा राम्रो संस्कारको विकास भएको बताए । साथै नियमित रुपमा ध्यान केन्द्रमा सर्वसाधारणबाट गरिने ध्यानले नागरिकलाई शान्तिको अनुभूति प्राप्त भई चरित्र निर्माणमा टेवा पुगिरहेको उनले बताए ।
रासस