धनगढी – सातौँ संस्करणको लिटल फ्लावर प्रिमियर लिग (एलपीएल–७) को खेल तालिका सार्वजनिक गरिएको छ । कैलालीको धनगढी स्थित फाप्ला क्रिकेट मैदानमा माघ २१ गतेबाट आयोजना हुने सर्वाधिक धनराशिको विद्यालय स्तरीय यु–१९ टी–२० क्रिकेट प्रतियोगिता एलपीएलको खेल तालिका सार्वजनिक गरिएको हो ।

आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सले सार्वजनिक गरेको खेल तालिका अनुसार सातौँ संस्करणमा सहभागी १० विद्यालयलाई दुई समूहमा विभाजन गरिएको छ । खेलतालिका अनुसार प्रत्येक टिमले ४ वटा लिग चरणका खेल खेल्न पाउने छन् । लिग चरणमा जम्मा २० खेल खेलाइदा समूह विजेता र उपविजेता सेमिफाइनलमा प्रवेश गर्नेछन् ।

प्रतियोगिताको उद्घाटन खेलमा माघ २१ गते लोटस आइ इङ्लिस सेकेन्डरी स्कुल अत्तरिया र सत्यवती एकेडेमी अत्तरिया आमनेसामने हुनेछन् ।

फागुन ४ गते समूह विजेता र उपविजेता बिच सेमिफाइनल र ६ गते फाइन खेल हुने आयोजक लिटल फ्लावर स्पोर्ट्स एण्ड इभेन्ट्सका अध्यक्ष रामचन्द्र शाहीले बताए ।
कैलालीको धनगढीमा विगत ६ वर्षदेखि आयोजना हुँदै आएको प्रतियोगिताको यो संस्करणको विजेतालाई २ लाख ५१ हजार १ सय ११ र उपविजेतालाई १ लाख २५ हजार ५ सय २५ नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्रदान गरिने छ ।
प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले नगद २० हजार, उत्कृष्ट बलर र ब्याट्सम्यानले १०र१० हजार नगदसहित ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् । त्यस्तै उदयमान खेलाडीलाई नगद ५ हजार र प्रत्येक खेलको प्लेयर अफ दी म्याचलाई २ हजार प्रदान गरिने आयोजकले जनाएको छ । प्रत्येक विद्यालयले आफ्नो टिममा ४ जना १९ वर्षमुनिका खेलाडी समावेश गर्न पाउनेछन् ।
विद्यालयमा लुकेर रहेका क्रिकेट खेलाडीहरूलाई बढीभन्दा बढी खेल एक्सपोजर दिन तथा उमेर समूहको क्रिकेटलाई विकास गर्ने उद्देश्यसहित प्रतियोगिता सञ्चालन गर्न लागेको आयोजकको भनाई छ । प्रतियोगिताले विद्यालयहरू भित्र लुकेर रहेका नव प्रतिभाहरू पहिचान गर्न सजिलो हुने अध्यक्ष शाहीले बताए ।