सुदूरपश्चिम प्रदेशसभाका ५ बर्ष : आफ्नै घर बनाउन असफल

अत्तरिया – सुदूरपश्चिम प्रदेशसभाको स्थापना भएको ५ बर्ष पुरा भएको छ । २०७४ साल माघ ७ गते प्रदेशसभाको स्थापना भएको थियो । सोही दिनलाई आधार मान्दै हरेक वर्ष भव्यताका साथ स्थापना दिवस मनाइने गरिएको छ । पाँच वर्ष पूरा भई छैटौं वर्ष प्रवेश गरेको अवसरमा शनिबार बिशेष कार्यक्रमको पनि आयोजना गरिएको छ ।

maya metro hospital

प्रदेशसभाले नीतिगत रूपमा प्रदेशमा आवश्यक कानुनको तर्जुमा गरी कानुनी प्रदेशको रूपमा प्रदेशलाई स्थापित गर्ने थलो हो । प्रदेशसभाले बनाएका नीति नियम कार्यान्वय गर्ने प्रदेश सरकारको जिम्मेवारी भएपनि सुदूरपश्चिम प्रदेशसभाको संरचना बनाउने निर्णय समते कार्यन्वय हुन सकिरहेको छैन् । प्रदेश सभाको लोगो निर्धारण, प्रदेशका नाम र राजधानी तोक्ने कामलाई प्रदेश सभाले मुख्य उपलब्धि मान्दै आएको भएपनि अहिले सम्म राजधानीका संरचना बनाउने काम सुरु नै हुन सकेको छैन् ।

joshi vada pasal 2

प्रदेश सभाको २०७५ साल अश्विन १२ गते बसेको ४६ औं बैठकले कैलालीको गोदावरी नगरपालिका– २ र ४ पर्ने तेघरीमा राजधानी घोषणा गरेको थियो । तेघरीमा राजधानी घोषणा गर्ने काम भएपनि अहिले सम्म उक्त ठाउँमा प्रदेश सरकारले साइनबोर्ड समेत राख्न सकेको छैन् ।
पाँच बर्ष कार्यकाल पुरा गरेका पहिलो प्रदेशसभा सदस्यले आफ्नो कार्यकाल पुरा गरीसकेको भएपनि प्रदेश राजधानीमै निर्माण हुनुपर्ने प्रदेशसभा भवनको निर्माण कहिले हुने टुङ्गो छैन् ।

जसका कारण ५ वर्षअघि धनगढीस्थित जिल्ला समन्वय समितिको सभाहललाई प्रदेशसभाको रुपमा प्रयोग गरिदैं आइरहेको छ । पहिलो कार्यकाल पूरा गरि दोस्रो कार्यकालमा प्रवेश गरेको प्रदेश सभाले नयाँ सदस्य, सभामुख र उपसभामुख तथा संसदीय दलका नेता पाईसकेको छ ।

सुदूरपश्चिम प्रदेश सभाले पाँच वर्षको अवधिमा सरकार सञ्चालन र सेवा प्रवाह गर्ने ६७ वटा कानुन निर्माण गरेको छ । सभाबाट पारित भएका विधेयक पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण भईसकेका छन् । नवनिर्वाचित प्रदेश सभा सदस्य तथा प्रदेश सरकारलाई राजधानी कार्यान्वयन गर्नु र जनचासोका ऐन निर्माण गर्नु आगामी चुनौति रहेको छ ।

प्रदेशसभाले ५ बर्ष पुरा गरेको उपलक्ष्यमा सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री राजेन्द्रसिंह रावलले प्रदेशको समग्र विकासका लागि प्रदेश सभाले साझा थलोको रूपमा काम गर्नेगरेको बताएका छन । उनले प्रदेश सभाले सत्तापक्ष र प्रतिपक्ष सबैका लागि साझा थलोको रूपमा काम गर्ने गरेको बताएका हुन । दिवसको अवसरमा उनले प्रदेशवासी जनसमुदाय तथा देश र विदेशमा रहेका सबैलाई शुभकामना व्यक्त गरेका छन ।

प्रदेश सभाले प्रदेशमा सुशासनको प्रत्याभूति गराउने, प्रदेश सरकारलाई आवश्यक निर्देशन दिने, जनताका इच्छा आकाङ्क्षालाई पूरा गर्न सरकारसँग आवश्यक समन्वय गर्ने लगायतका कार्य गर्नेगरेको मुख्यमन्त्री रावलको ठम्याइ छ ।

‘पार्टीगत सिद्धान्त र विषयगत प्राथमिकता फरक फरक भए तापनि सुदूरपश्चिम प्रदेशको दिगो एवम् सर्वाङ्गीण विकासका विषयमा नेतृत्वकर्मी, जनप्रतिनिधि, सेवाग्राही तथा सरोकारवालाहरू एकजुट भई हातेमालो गर्दै अगाडि बढ्नु समयको माग र प्रमुख आवश्यकता रहेको छ’ मुख्यमन्त्रीद्वारा जारी सन्देशमा उल्लेख छ ।

स्वदेशी तथा विदेशी लगानीलाई सुरक्षा र आकर्षणको प्रत्याभूति गर्ने मुख्यमन्त्रीको भनाइ छ । ‘गाँस, बास, कपास, शिक्षा, स्वास्थ्य, सुरक्षाजस्ता आधारभूत आवश्यकताको व्यवस्थालगायत प्रदेशको विविध सामाजिक, आर्थिक र भौतिक विकासका सबै प्राथमिक विषयमा प्रतिपक्ष दलहरूलाई समेत साथमा लिई सामाजिक न्यायमा आधारित लोककल्याणकारी प्रदेशको रूपमा सुदूरपश्चिम प्रदेशलाई स्थापित गर्ने प्रतिबद्धता जाहेर गर्दछु’ मुख्यमन्त्रीले भनेका छन ।

प्रदेश सरकारको मुख्यमन्त्रीको हैसियतले यस अभियानमा सम्पूर्ण जनसमुदाय, जनप्रतिनिधिको साथ र सहयोगको अपेक्षा गर्दै उहाँले यो कार्यकालमा प्रदेश सभाले ऐतिहासिक सफलता हासिल गर्नेमा आफू विश्वस्त रहेको बताएका छन ।

साथै, मुख्यमन्त्री रावलले पहिलो प्रदेश प्रमुख, पहिलो प्रदेश सभाका सभामुख, उपसभामुख, प्रदेश सभा सदस्यहरू, प्रदेश सभा सचिवालय, निवर्तमान सरकारसहित सबैमा धन्यवाद ज्ञापन गरेका छन ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.