काँचुली फेर्दै झलारी बजार

राजेन्द्रप्रसाद पनेरु/ कञ्चनपुर – छ दशकअघि झलारी बजार रहेको क्षेत्र घना जङ्गलका रुपमा रहेको थियो । दिउँसै बाटैमा बाघ चितुवा लगायतका हिंस्रक जनावर आँखाअगाडि नै देखा पर्दथे । वन क्षेत्र नजिकै एक मात्रै भारतीयले सञ्चालन गरेको मदिराको भट्टी थियो ।

maya metro hospital

‘एक दुईजनाले हिँडेर त्यस ठाउँमा पुग्न डर लाग्थ्यो’, दुई दशक चार कार्यकाल झलारी गाउँ पञ्चायतको प्रधानपञ्च भएर सम्हाल्नुभएका ढक्कनबहादुर ऐरले भने ‘त्यो बेलाको अवस्था हेर्दा झलारी बजार यस्तो रुपमा विकास होला भनेर सोचेकै थिएनौँ ।’

joshi vada pasal 2

उनका अनुसार २०१५ सालअघि आवश्यकताका सामान ल्याउन ब्रह्मदेव र भारतीय बजार टनकपुर पुग्नु पर्दथ्यो । गाउँका बासिन्दाले सल्लाह गरेर सामान ल्याउनका लागि समूह बनाउँथे । समूहमै सामान ल्याउनका लागि गाउँका बासिन्दा जान्थे । ‘महाकालीमा नाउ चल्थ्यो, नुन लगायतको सामान ब्रह्मदेव मण्डीमै पाइन्थ्यो’, उनले भने, ‘परिवारको वर्षभरिका लागि पुग्ने कपडाका लागि भारतीय बजार नै पुग्दथ्यौँ ।’

राजा महेन्द्रले पूर्व पश्चिम राजमार्गको शिलान्यास गरेपछि यस क्षेत्रमा पनि विसं २०१८ मा सडक बन्न थाल्यो । ‘सडक खुलेपछि कहिलेकाहीँ भारतीय ट्रक बाँस बोक्नका लागि आउने गर्दथे, मौका मिले त्यसमै बसेर आवश्यकताका सामान ल्याउन भारत जाने गर्दथ्यौँ’ उनले भने ‘नमिले पैदल हिँडेर पनि सामान ल्याउँथ्यौँ ।’

सडकमा काम गर्ने मजदुरलाई लक्षित गरी त्यसबेला झलारीमा दुईवटा पसल खुले । घाँसको झुपडीमा चियासँगै थोरै सामान राखेर पसल सञ्चालन भए । सडक निर्माणसँगै महेन्द्रनगर बजार बस्यो । त्यसपछि समान ल्याउनका लागि सहज भएको ऐरको भनाइ छ ।

औलो उन्मूलन नहुँदासम्म पहाडी क्षेत्रबाट हिउँदका बेला मौसमी रुपमा मात्रै तराईमा बस्ने कार्य हुन्थ्यो । गर्मी सुरु नहुँदै पहाडतर्फ लाग्नुपर्ने बाध्यता थियो । औलो लागेर धेरै जनाको ज्यान जान्थ्यो । ‘विसं २०२८ सालमा औलो उन्मूलन भएपछि बाह्रै महिना तराईमा बस्न थाल्यौँ’, ८४ वर्षीय ऐरले भने ‘त्यो बेला जमिनदारी प्रथा थियो, जमिन्दारलाई रैती राख्ने अधिकार हुन्थ्यो, रैती राख्ने हटाउने कार्य जमिनदारले गर्दथे ।’ कृषि उपज खरिद गर्न भारतीय व्यापारी (महाजन)ले गोरु गाडा लिएर आउँथे । महाजनसँगै अन्नको कारोबार हुन्थ्यो । जमिनदारसँग पछि रुसमा बनेका ठूला ट्र्याक्टर आए । खेत गोरुसँगै ट्र्याक्टरले जोत्ने कार्य हुन थाल्यो ।

‘भारतीय डाँकाहरुले दिउँसै आएर लुटपाट मच्चाउन थालेपछि प्रधानपञ्च भएकै बेला विसं २०३२ तिर मैले प्रहरी चौकीको माग गरेँ’, ऐरले भने ‘अस्थायी थाना राख्यौँ, चारजना मात्रै प्रहरी बस्थे, प्रहरी बस्न थालेपछि डकैती हुने क्रममा कमी आयो, पहिलेको थाना अहिले इलाका प्रहरी कार्यालय भएको छ, मिडिल स्कुल बनायौँ, अहिलेको त्यो श्रीकृष्ण मावि उच्च मावि बनेको छ, जिल्लाको सदरमुकाम बेलौरी त्यसबेला थियो, मातपोत जसलाई पोता भन्थ्यौँ, पोता बुझाउन बेलौरी जान्थ्यौँ ।’

झलारीलाई राणाकालीन समयअघिदेखि नै झलारी भन्थे यसको नाम झलारी कसरी रहन गयो भन्नेबारे जानकारी नभएको उनको भनाइ छ । औलो उन्मूलनसँगै पूर्व पश्चिम राजमार्ग खोलिएपछि झलारी क्षेत्रमा बस्ती बस्न सुरु भएको हो । सनवोरा लगायतका नदीमा पक्की पुल बनेपछि झलारी क्षेत्रमा घर निर्माण हुन थाले । बिस्तारै बजारका रुपमा विकास भयो । पहाडी क्षेत्रबाट बसाइँ सर्नेहरुको सङ्ख्या बढेसँगै झलारी बजारमा घनाबस्ती बस्यो । अहिले बजारका रुपमा परिणत भएको छ । विसं २०२९ देखि विसं २०४६ सम्म ऐरले झलारी पञ्चायतको प्रधानपञ्च भएर काम गरे ।

raunak fals and silling

उनी भन्छन् ‘पञ्चायती व्यवस्थामा प्रधानपञ्च लिडर हुन्थे, गाउँको न्याय निसाफ छिन्ने, विकास निर्माणको कार्यमा प्रधानपञ्चकै भनेअनुसार हुन्थ्यो, केन्द्रबाट अहिले जस्तो बजेट आउँदैनथ्यो, घर कर, पसल कर उठाउँथ्याँै, त्यो पनि केन्द्रमै पठाउनु पर्दथ्यो, घरको अन्न बेचेर कार्यालयको कागजातको व्यवस्था गरिन्थ्यो, सचिवको तलब मात्रै सरकारले व्यहोथ्र्यो, त्यो व्यवस्था आप्mनै कार्यकर्ताको शोषण गर्ने व्यवस्था थियो, कारोबार केही नहँुदासमेत सरकारले वर्षको दुई पटक अडिटर भने पठाउँथ्यो, त्यसको खानेबस्ने सबै व्यवस्था प्रधानपञ्चले गर्नु पर्दथ्यो ।’

किसानले भारतीय साहूमहाजनले भनेकै दरमा अन्न बिक्री गर्नुपर्ने बाध्यतालाई ध्यानमा राखी सरकारले विसं २०३४ तिर साझा सहकारीमार्फत काँटा खोलेको स्मरण गर्दै उनले भने ‘त्यसपछि त्यसमै किसानले धान, गहुँ, मकै, तोरीलगायत बेच्न थाले, मूल्य पनि पाउन थालेँ ।’

झलारी गाउँ पञ्चायत हुनुअघि अर्जुनी पञ्चायत थियो । जोगराम डगौरा अर्जुनी गाउँ पञ्चायतका प्रधानपञ्च थिए । त्यसपछि शेरसिंह ठकुरी र जयबहादुर ऐर प्रधानपञ्च भए । झलारी गाउँ पञ्चायत भएपछि ऐर प्रधानपञ्च भएका हुन । प्रजातन्त्र स्थापनाका लागि विसं २०४६ को जनआन्दोलनपछि ऐर प्रधानपञ्चबाट हटे । झलारी गाँउ पञ्चायत हुँदा यहाँको जनसङ्ख्या पाँच हजार थियो । पछि बढ्दै गएर १५ हजार पुग्यो । अहिले यहाँको जनसङ्ख्या ६३ हजार छ सय ६७ पुगेको छ ।

तत्कालीन पञ्चायती व्यवस्थाका प्रधानमन्त्री सूर्यबहादुर थापालाई विसं २०४१ मा बाह्य क्षेत्रबाट आएको युवाहरुको समूहले झलारीमा कालोमोसो दलेपछि यस क्षेत्रले चर्चा पाएको ऐरको भनाइ छ । त्यसबेला झलारी बजारमा १५ जति मात्रै पसल थिए । तीन कुटानीपिसानीका डिजेलबाट चल्ने मिल थिए । हाल झलारीमा तीन सय बढी पसल रहेका छन । घरको सङ्ख्या मात्रै एक हजार बढी रहेको छ । तत्कालीन झलारी, पिपलाडी र देखतभूली गाउँ पञ्चायतलाई गाउँ विकास समितिमा परिणत गरियो । त्यसपछि तीनवटै गाविसलाई मिलाएर हाल शुक्लाफाँटा नगरपालिका बनाइएको छ ।

झलारी बजार बस्ने क्रम विसं २०४४ देखि सुरु भएको व्यवसायी घनश्याम भट्ट बताउन्छन । उनका अनुसार विसं २०५१ अघि सबै घर पसल कच्ची नै थिए । पूर्व पश्चिम राजमार्गमा पक्की पुल निर्माण भएपछि मात्रै पक्की घर बन्न थालेका हुन् । ‘विसं २०४५ सम्म झलारी बजार क्षेत्रको जग्गाको दर प्रतिकट्ठा रु १० हजारमा खरिद बिक्री हुन्थ्यो’, उनले भने ‘हाल बजार क्षेत्रको जग्गाको मूल्य प्रतिकट्ठा रु एक करोड बढी पुगेको छ ।’ कारोबारका दृष्टिकोणले महेन्द्रनगर पछिको बजारका रुपमा झलारी रहेको छ । झलारी बजारमा हाल दैनिक कारोबार रु ४५ लाखदेखि रु एक करोडसम्म हुने गरेको छ ।

‘बजार क्षेत्रका व्यापारीको हितका लागि पहिला बजार व्यवस्थापन समिति गठन गरी काम ग¥यौँ’ उनले भने ‘बजारको क्षेत्र बढ्दै गएपछि हाल उद्योग वाणिज्य सङ्घ दर्ता गरेर विधिवत् रुपमा सञ्चालन गरेका छौँ ।’ पहिलो कार्यालयका रुपमा झलारीमा नेपाल बैंक लिमिटेड, महिला विकास शाखा, हुलाक, प्रहरी थाना र साझा संस्था सञ्चालनमा थिए । स्थानीय कर्णबहादुर ऐरले भने ‘कार्यालयको नामको ठेगानामा विसं २०३८ तिर झलारी नलेखेर विलासपुर लेख्ने गरेका थिए, स्थानीयले झलारी नै भन्थे ।’

विसं २०५४ सम्म झलारी बजारका व्यापारीले धनगढीबाट समान ल्याएर बेच्ने गरेका थिए । हाल काठमाडौँ लगायतका क्षेत्रबाट थोकमा सामान ल्याएर व्यापारीले यहाँ बेच्ने गरेका छन् ।

शुक्लाफाँटा उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष हरेन्द्र भण्डारीका अनुसार सङ्घमा दर्ता भएका पसलको सङ्ख्या तीन सय ७० रहेको छ भने सङ्घमा दर्ता नभएर सञ्चालनमा रहेका पसललाई समेत जोड्दा त्यो सङ्ख्या पाँच सय बढी हुन्छ । झलारी बजारमा व्यावसायिक पसल र बसोबासका लागि घर थपिने क्रम बढे पनि सुविधा भने नबढेको नगरवासीको भनाइ छ । आधुनिक तरिकाले बजार नबस्दा साँघुरा गल्ली र नालीको भरपर्दो व्यवस्था छैन ।

अहिले एसियाली विकास बैंकको सहयोगमा बजार क्षेत्रमा सडक पूर्वाधार निर्माणको कार्य सुरु भएको छ । बजार क्षेत्रमा विद्युत्, खानेपानी, टेलिफोनको व्यवस्था भए पनि व्यवस्थित भने छैन । बजार क्षेत्र बढ्दै गए पनि नगरपालिकाले पूर्वाधार विकासका लागि चासो नदिएको नगरवासीको भनाइ छ । बजार क्षेत्रको वडालाई र अन्य वडालाई एकै किसिमको बजेटको व्यवस्था गर्दा थोरै मात्र कार्य हुन सकेको छ ।

रासस

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.