अत्तरिया – कैलालीको अत्तरियामा प्रथम वडाध्यक्ष कप ब्याटमिन्टन प्रतियोगीता आयोजना हुने भएको छ । गोदावरी नगरपालिका वडा नं. ३ मा रहेको गोदावरी नगर विकास समितिले पहिलो पटक वडाध्यक्ष कप पुरुष डबल वडास्तरिय ब्याटमिन्टन प्रतियोगीताको आयोजना गर्न लागेको हो ।

प्रतियोगीतामा नगरका सबै वडाका २/२ वटा टिम गरी २४ वटा टिमको सहभागीता रहने प्रतियोगीता संयोजक छत्र बहादुर रोकायाले बताए । उनले प्रतियोगीतामा आउने टिमले वडाको आधिकारीक पत्र पनि अनिवार्य रुपमा ल्याउनु पर्ने र उक्त टिम वडाको आधिकारीक टिम हुनुपर्ने बताए । उनले प्रतियोगीता अन्तरगत खेलहरुमा समुह चरणका खेल लिग र त्यसपछिका खेलहरु नकआउट प्रणाली अनुसार खेलाईने बताए । त्यसका साथै उनले उक्त वडामा निर्माण हुन लागेको ब्याटमिन्टनको ईन्डोर संरचनाको समेत शिलान्यास गरिने बताए ।

वडा नं. ३ का वडाध्यक्ष तेजराज अवस्थीले प्रतियोगीतालाई भव्य रुपमा सम्पन्न गर्न आफु हरसम्भव सहयोग गर्ने बताए । उनले आफु पहिलो पटक वडामा आएको र आफुलाई अनुभव नभएका कारण खेलकुदमा न्युन बजेट छुट्याएपनि आगामी दिनहरुमा आवश्यकता अनुसार र सम्भव भएसम्म बजेट विनियोजन गर्ने बताए । उनले वडामा रहेको खेलमैदानमा आवश्यक पर्ने कुराहरुका लागी पनि आफु हमेशा कटिबद्ध रहने बताए । उनले नगरभित्रका सबै वडाहरुका टिमहरु समावेश गरी वडा नं. ३ मा प्रतियोगीता आयोजना गरिरहेकोमा आयोजकलाई धन्यवाद ज्ञापन गरे ।

प्रतियोगीताको प्रथम हुने टिमले नगद रु. १५ हजार १ सय रुपैया पाउनेछ भने द्धितिय हुने टिमले ७ हजार ५ सय रुपैया पाउनेछ । यस्तै प्रतियोगीताको तृतिय हुने दुई वटा टिमले क्रमशः ३ हजार ५ सय र ३ हजार रुपैया पाउनेछ । प्रतियोगीताका लागी करिब १ लाख भन्दा बढी लगानी लाग्ने आयोजकले जनाएको छ ।
