अत्तरिया – सुदूरपश्चिम प्रदेश सभा स्थापना भएको आज पाँच वर्ष पूरा भएको छ । २०७४ साल माघ ७ गते प्रदेश सभाको स्थापना भएको थियो । सोही दिनलाई आधार मान्दै हरेक वर्ष भव्यताका साथ स्थापना दिवस मनाईने गरिएको छ । पाँच वर्ष पूरा भई छैटौं वर्ष प्रवेश गरिरहेको प्रदेश सभालाई सजावट गरिएको छ । चियापान, स्थापना दिवसको अवसरमा भव्य कार्यक्रम, दिप प्रज्वलन, सम्मान लगायतका कार्यक्रम गर्दै दिवस मनाईन लागेको हो ।

पहिलो कार्यकाल पूरा गरि दोस्रो कार्यकालमा प्रवेश गरेको प्रदेश सभाले नयाँ सदस्य, सभामुख र उपसभामुख तथा संसदीय दलका नेता पाईसकेको छ । यस्तै संसदीय विषयगत समिति भने गठन हुन सकेको छैन । दोस्रो कार्यकालको प्रदेश सभाको पहिलो अधिवेशनमा पाँच बैठक बसेका छन् ।

सो बैठकले सभामुख, उपसभामुख निर्वाचित गरिसकेको छ । कानुन निर्माणको अधिवेशनका रूपमा रहेको हिउदे अधिवेशनले नयाँ एन भने प्राप्त गर्न सकेको छैन् । सुदूरपश्चिम प्रदेश सभाले पाँच वर्षको अवधिमा सरकार सञ्चालन र सेवा प्रवाह गर्ने ६७ वटा कानुन निर्माण गरेको छ । सभाबाट पारित भएका विधेयक पनि प्रदेश प्रमुखबाट प्रमाणीकरण भईसकेका छन् ।

प्रदेशको नाम र राजधानी प्रमुख उपलब्धी
प्रदेश सभाले २०७५ असोज १२ गते प्रदेशको नाम सुदूरपश्चिम तथा राजधानी गोदावरी नगरपालिकाको तेघरीमा राख्ने प्रस्ताव दुई तिहाइ बहुमतका साथ पारित गरेको थियो ।
प्रदेश सभाको पाँच वर्षे कार्यकालको प्रमुख उपलब्धीका रूपमा लगिएको छ । तर, प्रदेश सरकारले राजधानी घोषणा गरे पनि हालसम्म भौतिक संरचना निर्माण लगायतका कुनै पनि प्रगति भने गर्न सकेको छैन । नवनिर्वाचित प्रदेश सभा सदस्य तथा प्रदेश सरकारलाई राजधानी कार्यान्वयन गर्नु र जनचासोका ऐन निर्माण गर्नु आगामी चुनौति रहेको छ ।