कैलालीमा कोटाको धान पाउनै मुस्किल

धनगढी – सरकारले कैलालीबाट हालसम्म ३० हजार क्वीन्टल धान खरिद गरेको छ । कैलालीका लागि ४० हजार क्वीन्टल धान खरिद गर्ने कोटा निर्धारण गरिएको भए पनि धान खरिद गर्ने अनुमति पाएको खाद्य व्यवस्था कम्पनीले बिहीबारसम्म ३० हजार क्वीन्टल धान मात्र खरिद भएको जनाएको छ । कैलालीको मोहनपुर, टीकापुर र भजनीबाट धान खरिद सुरु गरिएको भए पनि सोचेअनुसारको धान भने नआएको खाद्य व्यवस्था तथा व्यापार कम्पनीका कर्मचारीको भनाइ छ ।

maya metro hospital

‘यसपटक एक दुई सातामै कोटाको धान आउँछ होला भन्ने अनुमान गरिएको थियो,’ धनगढीस्थित मोहनपुर धान खरिद केन्द्रका कर्मचारीले भने, ‘तर सोचेभन्दा धेरै कम मात्रै धान आएको छ, यसको कारण केही बुझ्न सकिएको छैन ।’

citizen security services

विगतका वर्षहरुमा धान खरिद सुरु भएपछि खरिद केन्द्रमा किसानको लाइन हुने गरेको भए पनि यसपटक भने किसानले लाइन बस्नु नपरेको ती कर्मचारीले बताए । ‘सुरुका एक दुई दिन धान ल्याउने किसानको अलि चाप रहेको थियो,’ उनले भने, ‘त्यसपछि फाटफुट मात्रामा मात्रै धान आउने गरेको छ। पछिल्लो समय दिनमा एक दुई जना किसान मात्रै आउने गरेका छन् ।’

attariya hospital

सरकारले ढिलोगरी धान खरिद गरेका कारण यसपटक सोचेअनुसार धान नआएको हुन सक्ने खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रदेश कार्यालय धनगढीकी प्रमुख इन्जिला बस्नेतले बताइन् । तर, बिक्रीका लागि आउने क्रम भने नरोकिएको उनले बताइन् । ‘टीकापुरमा गोदाम अभावका कारण धान खरिद गर्न रोकेका छौं,’ उनले भनिन्, ‘त्यहाँ केही किसान अझै हामीसँग सम्पर्कमा छन्, धनगढीमा फाटफुट धान आइरहेको छ, त्यसैले कोटाअनुसार धान आउनेमा आशावादी छौं ।’

यसपटक धान खरिद प्रक्रिया अलि ढिलो सुरु भएका कारण पनि पर्याप्त धान नआएको अनुमान गरिएको उनले बताइन् । ‘मंसिरको सुरुमै प्रतिनिधि तथा प्रदेशसभा निर्वाचन भएका कारण कात्तिकदेखि नै चुनावको तयारीमा सरकारी निकाय जुट्नुपर्ने भयो,’ उनले भनिन्, ‘जसका कारण धान खरिदमा केही ढिलाइ भएको हो ।’

टीकापुरको गोदाममा रहेको धान पिसानीका लागि बोलपत्र आह्वान भइसकेको उनले बताइन् । ‘धान पिसानीका लागि बिहीबार १५ दिने सूचना निकालेका छौं,’ उनले भनिन्, ‘पिसानको ठेक्का लागेपछि टीकापुरको गोदाम खालि हुनेछ, त्यसपछि पुनः टीकापुरबाट पनि धान खरिद सुरु गरिनेछ ।’ यस वर्ष सरकारले ढिलो गरी धान खरिद प्रक्रियाअघि बढाउँदा किसानले व्यापारीलाई सस्तोमा धान बेचेका थिए । जसकारण अहिले खाद्य संस्थानलाई कोटाको धान पाउन पनि समस्या भइरहेको छ ।

‘गहुँका लागि आवश्यक पर्ने मल खाद, बिउ तथा चाडवाडमा खर्चको जोहो गर्न किसानले कात्तिकमै धान बेच्नु पर्ने हुन्छ,’ धनगढी–१३ का किसान शिवचरण रानाले भने, ‘त्यतिबेला सरकारले कुनै निर्णय गरेन, जब हामीले सस्तो मूल्यमा व्यापारीलाई धान बेचिसक्छौं, अनि मात्रै धान खरिद सुरु भयो, सरकारले ढिलो गरी धान खरिद गर्दा त्यसले किसानलाई नभई व्यापारीलाई फाइदा हुन्छ ।’

कात्तिकमा व्यापारीले किसानबाट सस्तोमा धान किनेर त्यही धान सरकारलाई महंगोमा बेच्ने गरेको उनको भनाइ छ । ‘किसानले व्यापारीलाई बढीमा २० रुपैंयामा धान बेचेका छन्,’ उनले भने, ‘किसानबाट सस्तोमा खरिद गरेको धान व्यापारीले २९ रुपैंयामा सरकारलाई बेच्दछ, व्यापारीलाई फाइदा पुग्ने गरी सरकारले नै ढिलो धान खरिद गर्ने गरेको छ ।’

सरकारले कात्तिक १६ गतेको मोटा धानको न्यूनतम मूल्य २ हजार ९६७ र मध्यम धानको मूल्य ३ हजार १२८ कायम गरेको थियो । कात्तिकमा मूल्य निर्धारण गरे पनि सरकारले धान खरिद भने मंसिर २७ गते बाट मात्रै सुरु भएको थियो । ‘सरकारले पुसबाट मात्रै धान गरिद गर्न सुरु ग¥यो,’ धनगढी–३ का रामदाश रानाले भने, ‘त्यतिसम्म अधिकांश किसानले धान बेचिसकेका थिए, अहिले सरकारले किसानको नभई व्यापारीको धान खरिद गरिरहेको छ ।’

‘दुई वर्षअघि मोटो धानको मूल्य २७ रुपैंया निर्धारण गरेको थियो,’ उनले भने, ‘त्यतिबेला व्यापारीले पनि राम्रै मूल्य दिएका थिए, गत वर्ष वर्षाले भिजेको भन्दै सरकारले धाननै खरिद नगर्दा व्यापारीलाई सस्तोमा धान बेच्यौँ, यस वर्ष सरकारले समयमा खरिद सुरु नगर्दा व्यापारीलाई नै सस्तोमा बेच्नु प¥यो ।’

धान बेचेर हिउँदे बाली लगाउन खर्चको जोहो गर्नुपर्ने भएका कारण व्यापारीलाई सस्तोमा धान बेच्नुपरेको उनले बताए । उनका अनुसार व्यापारीले किसानबाट बढीमा २० रुपैंयामा धान खरिद गरेका थिए ।

‘धान बेचेर आएको पैसाबाट खेत जोत्ने र मलखाद किन्नु पर्दछ,’ कैलालीको भजनी नगरपालिका–८ लालबोझिका किसान दिनेश डगौराले भने, ‘खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गर्ला भनेर कुरेर बसिरहँदा गहुँ छर्न ढिलो हुने भएपछि यहाँका किसान सस्तोमा धान बेचेर हिउँदे लगाएका हुन् ।’

खाद्य व्यवस्था तथा व्यापार कम्पनीले २०७७ मा धानको समर्थन मूल्य मोटो धान प्रतिक्वीन्टल २ हजार ७३५ र मध्यम धानको मूल्य प्रतिक्वीन्टल २ हजार ८८५ तोकेको थियो । सो वर्ष कैलालीमा ६१ हजार मेट्रिकटन धान संस्थानले खरिद गरेको थियो ।

गत वर्ष मोटो धानको मूल्य २ हजार ७५० र मसिनो धानको मूल्य २ हजार ८०० निर्धारण गरिएकामा कात्तिकमा आएको बाढीका कारण धान बिग्रेको भन्दै खाद्य तथा व्यापार कम्पनीले धान खरिद नै गरेन । २०७७ मा कैलालीका ४ वटा स्थान (धनगढी, टीकापुर, जोशीपुर र भजनी) बाट खाद्य व्यवस्था तथा व्यापार कम्पनीले धान खरिद गरेको थियो ।

dhangadhi krishi mela
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.