अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाका नगर शिक्षकहरुले प्रचारात्मक आन्दोलन सुरु गरेका छन । संघर्षका कार्यक्रम अन्तरगत शिक्षकहरुले बुधबार देखि प्रचारात्मक आन्दोलन सुरु गरेका हुन् । गोदावरी नगर शिक्षक समिति, नेपाल राहत शिक्षक समिति, एकिकृत अखिल नेपाल शिक्षक संगठन र नेपाल राष्ट्रिय शिक्षक संगठनले सयुक्त रुपमा आफ्ना माग पुरा गराउन प्रचारात्मक आन्दोलन सुरु गरेको जनाएका छन् ।
नगर शिक्षक समितिका सहसचिव कृष्णबहादुर विकले आफूहरुको आन्दोलनमा सबै शिक्षक संगठनहरुले एक्यवद्धता जनाएको बताए । उनले समाजिक सञ्जाल लगायतका बाध्यमबाट दवाव दिन २ दिन प्रचारात्मक आन्दोलन गरिएको बताए ।
‘सामाजिक संजाल पत्रपत्रिकाबाट दवाव सृजना गर्नको लागि यो आन्दोलन सुरु गरिएको हो’ उनले भने ‘यसमा नगरशिक्षक देखि लिएर बालविकास, राहत शिक्षकहरु, बिभिन्न शिक्षक संगठनहरुको एक्यवद्धता रहेको छ ।’ बुधबार देखि सुरु गरिएको प्रचारात्कम आन्दोलन बिहिबार पनि जारी रहने उनले बताए । उनले माग पुरा नभए शुक्रबार नगरपालिका कार्यालय घेराउ गरेर नगरपालिका परिसरमै विरोध सभा आयोजना गरिने बताए ।
नगर शिक्षकहरुले बिगत लामो समय देखि नियुक्तिपत्र यथासिघ्र दिइनुपर्ने, सम्पूण नगर शिक्षकको तलब तथा अन्य सुविधाहरु नेपाल सरकारको मापदण्ड अनुसार बनाइनु पर्ने, नगर शिक्षकलाइ पोशाक भत्ता दिइनुपर्ने, राज्यबाट शिक्षक–शिक्षक बीचको विभेद अन्त्य गरिनुपर्ने लगायतका माग राख्दै आन्दोलन गर्दै आइरहेका छन् ।
शिक्षकहरुले कार्तिक महिना देखि तलब नपाउँदा भोको पेट अध्यापन गराउन निकै समस्या भइरहेको बताएका छन् । सरस्वती मावि ओलानीमा अध्यापन गराउँदै आएका मुकेश भट्टले नगरपालिका संगै निरन्तर रुपमा आफ्ना माग राखिरहेको भएपनि सम्बोधन नभएको बताए ।
उनले नगर शिक्षक भनेपनि आफूहरुले अहिले सम्म नियुक्ति पत्र नपाएको बताए । ‘नगरशिक्षक प्रमाणिकरण भइसकेको भएपनि बजारमा प्रमाणिकरण भएको छैन भनेर अफवाह फैलाइएको छ’ उनले भने ‘नगर शिक्षकहरुलाई स्थायी नियुक्ती दिइयोस् भन्ने हाम्रो माग हो । हामीले नगरशिक्षकलाई पनि स्थायी शिक्षक सरह सेवा सुविधाहरु प्रदान गरिएको भन्ने हाम्रो माग रहेको छ ।’
४ बर्ष अगाडी निजी श्रोतको शिक्षक कोटाबाट नियुक्त भएका शिक्षक भट्टले हाल नगरपालिकाबाट सेवा सुविधा लिदै आएको बताए । उनले भने ‘नगरपालिकाले निजी शिक्षकलाई नगरशिक्षक बनाउने अवधारण ल्याएपछि २०७८ सालमा हामी नगर शिक्षक बनेका हौ । अहिले नगरबाटै तलब सुविधा पाइरहेका छौ ।’ उनले नगरपालिकाले बधाई पत्रका रुपमा नगर शिक्षक भएको प्रमाण पत्र दिएको भएपनि नियुक्ती पत्र भने नपाएको बताए ।
गोदावरी नगर शिक्षक समितिका अध्यक्ष तपराज ओझाले आफूहरुको पहिलो मुख्य माग तलब वृद्धि र नियुक्ति पत्र दिइनुपर्ने बताए । ‘नगरपालिकामा लेखा अधिकृत नभएकाले तलब ढिलाई भएको होला’ उनले भने ‘नगरपालिकाले आफैले प्रतिवद्धता गरेको तलव वृद्धि र नियुक्ती दिने कुरामा अहिले बेवास्था गरेकोले हामी आन्दोलित भएका हौ ।’
हाल गोदावरी नगरपालिका भित्र १४२ जना नगर शिक्षकका रुपमा कार्यरत रहेका छन । नगरपालिकाले ति शिक्षकलाई प्राथमिक तहमा मासिक २० हजार, निमावि तहमा २२ हजार र मावि तहमा २५ हजार दिदै आएको छ । स्थायी शिक्षकहरुको भने प्रावि तहमै ३५ हजार बराबरको तलब सुविधा भएको भन्दै नगरशिक्षकहरुले विरोध गर्दै आइरहेका छन ।
नगरशिक्षकहरुले बिमा, सञ्चयकोषको व्यवस्था गरिनु पर्ने, नगर शिक्षकहरुको संञ्चित बिरामी कोषको तत्काल व्यवस्था गरिनु पर्ने, छुट्न गएका निजी शिक्षकहरुलाई पनि प्रक्रिया पु¥याएर नगर शिक्षक नियुक्त गरिनुपर्ने माग राख्दै आएका छन् ।