अत्तरिया – गोदावरी नगरपालिकाका नगरप्रमुख विरेन्द्र भट्टले नेपाली सेना यस क्षेत्रको विकासको बाधक बन्न नहुने बताएका छन् । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटीको आयोजनामा बुधबार देखि सुरु भएको ‘प्याब्सन फेस्टिबल’ को उद्घाटन गर्दै उनले सो कुरा बताएका हुन् ।

उनले अत्तरिया चोकलाई प्रहरी सेनाले भोगचलनमा लिदा यस क्षेत्रको विकासमा समस्या भएको बताए । ‘तपाई हाम्रो लागि एउटा विडम्बनाको कुरा अत्तरिया चोकमा प्रहरी र आर्मी भोगचलनमा लिनु भएको छ । सुदूरपश्चिमको एउटा मात्रै चोक छ । सुदूरपश्चिमको ट्रन्जिट पोइन्टका रुपमा हामीले अत्तरिया चोकलाई लिने गरेका छौ’ उनले भने ‘यो क्षेत्र प्रहरी सेनाले लिदा त्यसलाई विकास गर्नको लागि आज हामीले पछि परिरहनुपरेको छ ।’


उनले यस क्षेत्रमा व्यवस्थित बसपार्कको आवश्यकता रहेको बताए । ‘मैले निर्वाचित भइसकेपछि नेपाल लगानी बोर्ड संग मैले कुरा गरेर यसलाई व्यवस्थित बसपार्क बनाउने जमर्को गरे । तर, नेपाली सेनाले यो हाम्रो भोगचलनमा छ । यहाँ तपाई बनाउन सक्नु हुँदैन भने । त्यसपछि पनि सर्वदलिय टिम लगेर पनि केन्द्रमा नेताहरुलाई पनि भेट्यौ । सेनालाई पनि भेटेर अनुरोध गर्यौ’ उनले भने ‘हामीले समग्र अत्तरिया क्षेत्रको विकासको बाधक नेपाली सेना बन्नु हुँदैन भन्यौ । सेना पनि हाम्रो अभिन्न अंग हो हामी यसलाई फरक लिदैनौ तर समग्र अत्तरिया चोकलाई घेरेर यहाँको सबै विकासको बाधक तपाइहरु बन्नु हुँदैन भनेका छौ ।’
उनले लामिताललाई पनि पर्यटकिय क्षेत्रका रुपमा अगाडी बढाउन सकिने भएपनि त्यो पनि सेनाले भोगचलनमा लिएका कारण काम गर्न नसकिएको बताए ।
उनले यस क्षेत्रको मुख्य पर्यटकिय एवम् धार्मीक क्षेत्र गोदवरीको विकास गर्नको लागि वृहत गोदावरी धाम बनाउन आवश्यक रहेको बताए । उनले यसको डिपिआर बनाउन नगरपालिका तयार रहेको बताए ।
सम्बन्धित समाचार : गोदावरी नगरस्तरिय ‘प्याब्सन फेस्टिबल’ सुरु
