अत्तरिया – कैलालीको अत्तरियामा गोदावरी नगरस्तरिय ‘प्याब्सन फेस्टिबल’ सुरु भएको छ । निजी तथा आवासिय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन) गोदावरी नगर कमिटीको आयोजनामा बुधबार देखि ‘प्याब्सन फेस्टिबल’ सुरु भएको हो ।
फेस्टिवलको एक कार्यक्रमका बीच गोदावरी नगरपालिकाका नगरप्रमुख बिरेन्द्र भट्टले उद्घाटन गरेका छन् । फेस्टिवलको उद्घाटन गर्दै नगरप्रमुख भट्टले शिक्षाको विकासका लागि निजी विद्यालयको महत्तपूर्ण भूमिका भएकाले यसलाई राज्यले फरक दृष्टिकोणले हेर्न नहुने बताए ।
‘निजी क्षेत्रबाट संंचालित विद्यालयलहरुले शैक्षिक गुणस्तरलाई अगाडी बढाएको देखिन्छ’ उनले भने ‘म निजी क्षेत्र संग मिलेर काम गर्न तयार छु । यसका लागि सबैलाई हातेमालो गर्न अनुरोध गर्दछु ।’
उनले शिक्षा क्षेत्रमा आमुल परिवर्तन ल्याउनको लागि के कस्ता काम गर्न सकिन्छ त्यसका लागि नगरपालिकालाई सुझाव दिन आग्रह गरे । उनले प्रतिस्पर्धा विना कुनै पनि क्षेत्रलाई अगाडी बढाउन नसकिने बताए ।
उद्घाटन कार्यक्रममा बोल्दै नगरपालिकाकी उपप्रमुख सारदा रोकायाले बालबालिका नै देशको कर्णधार भएकाले बालबालिकालाई राम्रो शिक्षा दिन आवश्यक रहेको बताइन् । उनले बालबालिकाको सर्वाङ्गिण विकास गर्नको लागि खेलकुदको पनि महत्तपूर्ण भूमिका हुने बताइन् ।
कार्यक्रममा बोल्दै सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानका उपकुलपति टिएन जोशीले शिक्षा क्षेत्रको विकासका लागि निजी क्षेत्रको महत्वपूर्ण भूमिका रहेको बताए । उनले प्याब्सलनले जिल्लामै राम्रो नतिजा दिइरहेको बताए । उनले सुदूरपश्चिम प्रज्ञा–प्रतिष्ठानलाई पनि शिक्षा संग जोडेर विद्यार्थी संग अतिरिक्त क्रियाकलाप गर्नुको लागि योजना अगाडी सारेको बताए ।
प्याब्सन नगर कमिटी अध्यक्ष श्याम बहादुर खत्रीले विद्यार्थीलाई अतिरिक्त क्रियाकलापमा जोड्नको लागि फेस्टिवल आयोजना गरिएको बताए । ‘हरेक विद्यार्थीमा अलग अलग क्षमता हुन्छन् । ति क्षमतालाई उजागर गर्नको लागि यो प्याब्सन फेस्टिवल आयोजना गरिएको हो’ उनले भने ‘अहिलेका बालबालिका मोबाइलमा बढी समय दिने भएकाले त्यस्ता बालबालिकालाई खेलमा जोड्न पनि यो कार्यक्रम आयोजना गरेका हौ ।’
नगर क्षेत्रमा प्याब्सनमा आवद्ध १६ विद्यालय सहभागि रहेको प्याब्सन फेस्टिबल माघ १० गते सम्म संचालन हुने आयोजकले जनाएको छ ।
गोदावरी नगरपालिका – ३ चौकिडाँडामा रहेको लेमनग्रास खेल मैदानमा उद्घाटन गरिएको प्याब्सन फेस्टिवलका कार्यक्रम चौकिडाँडा सामुदायिक भवन रहेको प्राङ्गण र कनकवा खेल मैदान पनि संचालन हुने छ । फेस्टिबलमा ३ विधा अन्तरगत २६ वटा खेल खेलाईने छ ।
फेस्टिबलमा प्याब्सनमा आवद्ध प्राथमिक, निम्न माध्यमिक र माद्यमिक तहका विद्यार्थीलाई समेटिएको छ । फेस्टिबलमा विजेता खेलाडीहरुलाई प्रमाण पत्र, मेडल र सहभागि विद्यालयलाई रनिङ ट्रफि दिइने आयोजकले जनाएको छ ।
सम्बन्धित समाचार : अत्तरिया क्षेत्रको विकासको बाधक सेना बन्नु हुँदैन : मेयर भट्ट