धनगढी – नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु सम्पर्कविहीन बनेपछि ५ बज्नै लाग्दा पनि मुख्यमन्त्रीमा दाबी पेश हुन सकेको छैन । सुदूरपश्चिममा मुख्यमन्त्रीको दाबी पेश गर्ने समय आज साँझ ५ बजेसम्म छ ।

सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा दाबी गर्नका लागि तोकिएको समय घर्किदै जादा प्रदेश सरकार गठन प्रक्रिया अन्योल बनेको छ ।
मुख्यमन्त्रीमा दाबी पेश गर्ने तयारीमा रहेको नेकपा (एमाले)ले अझै नागरिक उन्मुक्ति पार्टीको समर्थन पाउन सकेको छैन ।

सुदूरपश्चिम प्रदेशसभामा निर्वाचित उन्मुक्तिका प्रदेशसभा सदस्यहरु सम्पर्कविहीन बनेका छन ।

नागरिक उन्मुक्तिसंग शीर्ष तहमा छलफल भइरहेको र सरकार गठनको समय सीमाभित्र बहुमतसहित मुख्यमन्त्रीमा दाबी पेस गर्ने एमालेको दाबी छ ।
प्रदेशसभा सदस्यहरु आफ्नो सम्पर्कमा नभएकाले आफू धनगढीमा उनीहरुको खोजी गरिरहेको सो पार्टीका प्रवक्ता दामोदर पण्डितले जानकारी दिए । आफू अहिले प्रदेश सभास्थित पार्टीको संसदीय दलको कार्यालयमा पुगेको तर कुनै पनि प्रदेशसभा सदस्य सम्पर्कमा नाआएको उनले बताए ।
प्रदेशसभा सदस्यहरुसँग सम्पर्क गर्न प्रयासरत रहेको उनको भनाइ छ । स्रोतका अनुसार नागरिक उन्मुक्ति पार्टीका प्रदेशसभा सदस्यहरु अहिले प्रदेशको अस्थायी राजधानीसमेत रहेको धनगढीको गोप्य स्थानमा कुन गठबन्धन अथवा दललाई समर्थन गर्ने भन्नेबारे छलफल गरिरहेका छन् ।
५३ सदस्यीय प्रदेश सभामा सबैभन्दा ठूलो दल नेपाली कांग्रेसका १९, नेकपा (माओवादी केन्द्र)का ११, नेकपा (एमाले)का १०, नागरिक उन्मुक्तिका ७, नेकपा (एकीकृत समाजवादी)का ४, राप्रपाका १ र स्वतन्त्र १ सांसद छन् ।
