अत्तरिया – कैलालीको अत्तरिया आजदेखि सुदूरपश्चिम प्रादेशिक महोत्सव सुरु हुने भएको छ । अत्तरियाको लामिताल परिसरमा अत्तरिया उद्योग बाणिज्य संघको आयोजनामा आजदेखि सातौ संस्करणको महत्सव सुरु गर्न लागेको हो ।

महोत्सवको दिँउसो १ बजे प्रदेश प्रमुख देवराज जोशीले उद्घाटन गर्ने कार्यक्रम रहेको छ । त्यसअघि बिभिन्न संघस्थाहरुको सहभागितामा अत्तरिया बजारमा ¥याली निकालेर महोत्सव स्थलमा प्रवेश गराइने आयोजनकले जनाएको छ ।


यसैबिच महोत्सवको बारेमा जानकारी दिन मंगलबार अत्तरियामा आयोजना गरिएको पत्रकार सम्मेलनमा महोत्सवको सम्पुर्ण तयारी पुरा भएको जानकारी दिइएको थियो । पत्रकार सम्मेलनमा बोल्दै अत्तरिया उद्योग बाणिज्य संघका संस्थापक अध्यक्ष बसन्त रोकायाले महोत्सलाई भव्य रुपमा सम्पन्न गर्नका लागि सहयोग गर्न सम्पुर्णलाई आग्रह गरे ।
संघका अध्यक्ष एवम् महोत्सवका संयोजक अशोकराज देवकोटाले महोत्सवको मुख्य आकर्षणका रुपमा राष्ट्रिय एवम चर्चित कलाकारहरुको प्रस्तुती, लामीतालमा डुंगाको व्यवस्था, बाल उद्यान, खानाका विभीन्न परिकारहरु, विभीन्न प्रकारका झाँकीका साथै नृत्यहरु रहेको बताए । उनले महोत्सवमा १५० ओटा स्टल रहने बताए ।
महोत्सवलाई करिब ८० हजार दर्शकले अवलोकन गर्ने अनुमान गरिएको छ । माघ ९ गतेसम्म संचालन हुने महोत्सवमा २ करोड रकम बराबरको कारोबार हुने अपेक्षा गरिएको छ । महोत्सव हेर्नका लागि सर्वसाधारणका लागि ८० र विद्यार्थीहरुका लागि ५० रुपैयाँ टिकट कायम गरिएको छ । महोत्सवमा शारिरिक अपाङ्गता र जेष्ठ नागरिक तथा एकल महिलालाई भने निःशुल्क गरिएको छ ।
अत्तरिया उद्योग बाणिज्य संघले गत बर्ष पनि पुस २७ गते देखि महोत्सव आयोजना गर्ने घोषणा गरेको भएपनि पछि कोरोना महामारीका कारण अन्तिम समयमा आएर स्थगित गरेको थियो । त्यसपछि महोत्सव फागुन १३ गते देखि सुरु भएको थियो । उक्त महोत्सवको तत्कालिन संस्कृती पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले उद्घाटन गरेका थिए ।
