अत्तरिया – पछिल्लो केही दिन यता कैलाली कञ्चनपुरमा अत्याधिक मात्रामा चिसो बढेको छ । चिसोका कारण यहाँको जनजिवन समेत अस्तव्यस्त बनेको छ । कैलालीको गोदावरी नगरपालिका वडा नं. ३ चौकिडाँडामा बसोबास गर्दै आएका सुकुम्बासीहरुलाई त झन शितलहरले अत्याधिक सताएको छ । सडक किनारमा बनाएको माटोको सानो झुपडीमा बसोबास गर्दै आएका उनिहरुलाई साँझको समस्या त छदै छ, दैनिकि समेत कसरी कटाउने भन्ने चिन्ताले सताउन थालेको छ ।
विगत ६ वर्षदेखि सो क्षेत्रमा बस्दै आएकी दुर्गा देवी टमटाले पछिल्लो केही दिनको चिसोले गर्दा दैनिकिमा समस्या आएको बताईन् । ‘दिउँसोको समयमा घाम भए केही काम गर्न सकिन्थ्यो, चिसोका समयका केही गर्न सकिदैन’ उनले भनीन् ‘के गरौ, कसो गरौ हुन्छ, दैनिक रुपमा काम गर्न नपाए खान पुग्दैन, चिसोका कारण काम गर्न सकिदैन ।’
श्रीमान सहित बस्दै आएकी उनले दैनिक रुपमा ज्याला मजदुरी गरेर पेट पाल्ने गरेको बताईन् । उनले श्रीमानले आरनको काम गर्ने गरेको भएपनि कोईला अभावका कारण त्यो पनि हुन नसकेको बताईन् । ‘यहाँ बसेदेखी नै आरनको काम सुरु गरेका हौ’ उनले भनीन् ‘आजकल कोईला ल्याउन सकिदैन, बनबाट ल्याए कारबाही हुन्छ, समस्या छ ।’
उनले चिसोले सताएपनि जसोतसो रात कटाउनुपर्ने बाध्यता रहेको बताईन । ‘अत्याधिक चिसो हुन्छ, ओड्नलाई ब्लांकेट किनौ भने पैसा छैन’ उनले भनीन् ‘सानो कम्बल छ, त्यसैमा मसँग भएका सलहरु मिलाएर सुत्छौ ।’ उनले शितलहर चल्दा पनि कुनै क्षेत्रबाट सहयोग नपाएको गुनासो गरिन । त्यही ठाउँमा बस्दै आएकी अमिता देवी टमटालाई पनि चिसोले पिरोलेको छ । उनिसँग ओड्ने र बिछ्याउने समेत छैनन् । ‘म त थोरै भयो यता आएको, तर यहाँ त धेरै चिसो छ’ उनले भनीन् ‘ओड्ने बिछ्याउने नहुँदा त झन राती मुटु नै काप्छ ।’ उनले ओड्नलाई सलहरु भएपनि बिछ्याउने नहुँदा रातीको समयमा पराल बिछ्याएर सुत्ने गरेको बताईन् । करिब २ महिनाअघि मात्रै डडेल्धुराबाट अत्तरियामा झरेकी उनले वडा नं. ३ मै रहेको महेन्द्र राजमार्गको छेउमा टहरो बनाएकी छन ।
उनले सरकारले केही नभएकाहरुलाई जमिन दिदैछ भन्ने कुरा सुनेर आफु तराई झरेको बताईन् । ‘म त मेरो गाउँका एक जना नातिनिको बिहेमा यता आएकी हुँ, यहाँ मेरो छोरी ज्वाई पनि बस्छन’ उनले भनीन् ‘पहाडमा पनि केही नभएकी मान्छे, पहाड जानुभन्दा यतै बसौ न त भनेर यता बसेकी हुँ ।’ उनले बनाएको टहरो भित्र आगो बालेकी थिईन् ।
साँझको समयमा टहरोमा अत्याधिक चिसो हुने हुँदा दिउँसोको समयमा आगोले तताउने गरेकोे उनले सुनाईन । उनले आर्थिक अभावकै कारण टहरो छाउन समेत नसकेको बताईन । ‘टहरो छाउनलाई प्लाष्टिक चाहिन्छ, तर प्लाष्टिक किन्नलाई पैसा छैन’ उनले भनीन् ‘अर्काले दिएर त छाट टारिरहेकी मलाई घर छाउनलाई कस्ले पैसा दिन्छ ।’ उनले आफुलाई छोरी ज्वाईले पालिरहेको समेत बताईन । श्रीमानले अर्काे बिहे गरेर जाँदा आफु घर न घाटको भएको बताउदै उनले छोरीको सहारामा अत्तरियामा बसिरहेको बताईन । उनले चिसोले कठ्यांग्रिएका सुकुम्बासीहरुलाई कतै बाट पनि राहत उपलब्ध नभएको बताईन । उनले आफुजस्ता केही नभएकाहरुका लागी सरकारले केही सहयोग गरिदिनुपर्ने बताईन ।
चिसोका समयमा बिना काम घरबाहिर ननिस्किने, न्यानो लुगाहरु लगाउने, आगो ताप्ने, तातो झोलिलो खानेकुराहरु खाने लगायतका कुराहरु डाक्टरले बताउदै आएका छन । चिसोबाट बच्ने माथि उल्लेखित उपायहरु नहुँदा सुकुम्बासी बस्तीका मानिसहरुलाई रोगको संक्रमण बढ्ने अवस्था सृजना भएको छ ।
जाडोको समयमा नाक, कान र घाँटीको एलर्जी हुने, श्वासप्रश्वास तथा छातीमा समस्या देखिने तथा रुघाखोकी लाग्नेजस्ता रोगले सजिलै आक्रमण गर्न सक्छ । शीतलहर, हुस्सु, कुहिरो र चिसो हावामा रोगले छिटो आक्रमण गर्ने भएकाले यस्तो अवस्थामा जतिसक्दो शरिरलाई न्यानो राख्नुपर्दछ । तर आवश्यक अनुसारका सामग्रीहरु किन्ने अवस्था नहुँदा टहरामा बस्दै आएका सुकुम्बासी समुदायका मानिसहरुलाई रोगको संक्रमण बढी हुन सक्ने देखिएको छ ।