कञ्चनपुर – कञ्चनपुरको दोधारा चाँदनीमा निर्माण हुने सुक्खा बन्दरगाहका लागि भारततर्फ पहुँचमार्गको काम अघि बढाइएको छ । भारतले सीमावर्ती बजार चकरपुरमा राष्ट्रिय राजमार्गदेखि नेपाल–भारत सीमासम्मै पहुँच मार्ग निर्माणको काम सुरु गरेको हो ।
उत्तराखण्ड राज्यको चम्पावत जिल्लामा पर्ने उक्त क्षेत्रमा बन्ने झन्डै ४ किलोमिटर पहुँच मार्ग ४ लेनको हुनेछ । जसका लागि गत कात्तिकमै ठेक्का सम्झौता भई निर्माण कम्पनीलाई जमिन हस्तान्तरण गरिएको थियो । सडक निर्माणका लागि ७.२८ हेक्टर जमिन चम्पावत प्रशासनले निर्माण कम्पनीलाई हस्तान्तरण गरेको थियो । शनिबारदेखि सडक क्षेत्रमा पर्ने रूख कटानको काम थालिएको आयोजनाले जनाएको छ । ४ किमि क्षेत्रमा २ हजार २ सय ६३ रूख काट्नुपर्ने किटान भारतीय वन निगमले गरेको छ ।
निगमको अनुमतिपछि सडक क्षेत्रमा पर्ने रूख कटानको काम सुरु भएको हिन्दी पत्रिका ‘अमर उजाला’ का पत्रकार राजेश देउपाले बताए । ‘करिब २ अर्ब रुपैयाँमा ४ किमि सडक निर्माण गर्ने गरी ठेक्का लागेको हो । सम्झौताअनुसार डेढ वर्षभित्र काम सक्नुपर्छ । अहिले सडक निर्माणकै लागि रूख काट्न थालिएको हो,’ उनले भने ।
दुवै मुलुकबीच व्यापारिकसँगै यातायात सेवालाई पनि जोड्ने गरी सडक निर्माण थालिएको बताइएको छ । महाकालीपारिको दोधारा चाँदनी नगरपालिका–१ मा सुक्खा बन्दरगाह निर्माण गर्ने योजना छ । दुई दशकदेखि चर्चा मात्रै भइरहेको यो आयोजनाको बल्ल विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) तयार गरिँदै छ । यसअघि दोधारा चाँदनी–७ कञ्चनभोजमा सुक्खा बन्दरगाहका लागि अध्ययन तथा सर्भे भएको थियो । उक्त क्षेत्रमा स्थानीयको विरोध र भारतसँगको पहुँच मार्गमा समस्या हुने भएपछि पछिल्लो पटक दोधारा चाँदनी–१ मा बनाउन अध्ययनसँगै डीपीआर निर्माण थालिएको इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले बताए ।
उनका अनुसार सुक्खा बन्दरगाहदेखि एकीकृत जाँच चौकीसम्मका सबै संरचना भारत सरकारले नै निर्माण गर्ने समझदारी छ । जसअनुसार अहिले भारतको राइट्स कन्सल्टेन्सीले ६ महिनाभित्र काम सक्नेगरी आयोजनाको डीपीआर बनाइएको छ । ‘हामीले फोकल एजेन्सीका रूपमा काम गरिरहेका छौं, मन्त्रालयबाट पनि यही जानकारी भएको छ,’ उनले भने, ‘भारतले ३ वर्षभित्र सुक्खा बन्दरगाह र पहुँच मार्गको काम सक्ने समझदारी भएको छ ।’