धनगढी – नेपाली काँग्रेसले नागरिक उन्मुक्ति पार्टीलाई सुदूरपश्चिम प्रदेशमा नेतृत्व दिने गरि सरकारमा जाने तयारी गरेको छ । आफनो माग र मुद्दालाई अघि सारि केन्द्रमा सरकारको समर्थन गरेपनि प्रदेशमा अनिर्णित उन्मुक्तिलाई फकाएर प्रदेश सरकारमा जाने प्रयासमा काँग्रेस देखिएको हो ।
नेपाली काँग्रेसका संसदीय दलका नेता कमलबहादुर शाह, नेपाली काँग्रेस प्रदेश सभापति विरबहादुर बलायर लगायतका प्रदेश सभा सदस्यहरुले डिल्लीबजार कारागारस्थित उन्मुक्तिका नेता रेशम चौधरीसंग भेटवार्ता गरेका छन् ।
‘उन्मुक्तिले कुनै पनि निर्णय दिन सकेको छैन । सो पार्टी बिना प्रदेश सरकार बन्ने सम्भावना छैन्’ नेपाली काँग्रेसका प्रदेश सभा सदस्य प्रकाश बमले भने ‘उन्मुक्तिलाई मुख्यमन्त्री दिएर काँग्रेस सरकारमा जान तयार रहेको छ ।’
उनले मंगलबार सम्म कुन दलको सरकार बन्ने भन्ने बारे टुङ्गो लागि सक्ने बताए । प्रदेशमा नागरिक उन्मुक्ति, नेपाली काँग्रेस, नेकपा एकीकृत समाजवादी समिकरणको सरकार बन्न सक्ने खुल्ला बाटो छ ।
यस्तै, नागरिक उन्मुक्ति, नेकपा एमाले, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टीको पनि सरकार बन्न सक्छ । भने केन्द्रको समिकरणमा पनि सरकार बन्न सक्छ तर, नागरिक उन्मुक्ति पार्टीले ठोस निर्णय कता गर्छ भन्ने सबै दलको चासो रहेको छ ।