बिक्रम खड्का/डोटी – दिपायल सिलगढी नगरपालिकाको हिउँदे अधिवेशन सम्पन्न भएको छ । आइतबार सम्पन्न १२ औं नगर सभा एवं अधिवेशनबाट नगर पालिकाले बसपार्क निर्माणमा प्राथमिकता दिइ जमिन खरिद गर्ने योजना पारित गरेको हो ।

नगरपालिका भित्र तत्काल बसपार्कको आवश्यकता रहेकाले प्राथमिकताका साथ हिउँदे अधिवेशनमा एक मात्र योजना बसपार्क लागि खरिद गरिने गरि योजना पारित गरिएको नगर प्रमुख बाजी सिंह खड्का (विजय) ले बताए ।


उनले भने ‘हाम्रो नगरपालिका जिल्ला भरकै केन्द्र हो, साथै यस जिल्ला भएर धेरै जिल्लाका यात्रुहरु आवत जावत गर्ने गर्दछन् । नगरपालिका भित्र व्यवस्थित वसपार्क अनिवार्य पनि हो । बसपार्क व्यवस्थित नहुँदा बजारमा पार्किङ्गको पनि समस्या रहेको छ । तत्काल यसको समाधान गर्नु पर्ने देखिए पछि यस वर्षको वजेटमा बसपार्क मात्रै अटाएका हौं ।’
नगरपालिकाले हरेक वर्ष यसै गरि नगर गौरवका योजनाहरु अघि सार्ने उनले बताए । योजनाहरु टुक्र्याएर बनाउँदा प्रगति पनि नदेखिने, भने जस्तो काम पनि नहुने भएकाले पनि प्रत्यक वर्ष देखिने खालका ठुला योजनाहरु अघि सारिने उनको भनाई रहेको थियो ।
कार्यक्रमको सभाअध्यक्ष नगरपालिका नगर प्रमुख बाजि सिंह खड्काले गरेका थिए भने, अतिथिमा उपप्रमुख कलावती महर (साउद), निमित्त प्रशासकिय अधिकृत शंकर सुचिकार ,वडा नम्बर १ देखि ९ वडा सम्मका वडा अध्यक्ष लगायत कार्यपालिकाका सदस्यहरुको उपस्थिति रहेको थियो ।
