धनगढी – भारतको लखनउमा बस दुर्घटना हुँदा ज्यान गुमाएका ३ जना नेपालीमध्ये २ जनाको पहिचान खुलेको छ । जिल्ला प्रशासन कार्यालय कैलालीले मृतक नेपालीमध्ये २ जनाको सनाखत भएको विवरण प्राप्त भएको जनाएको छ ।


मृत्यु हुनेमा टीकापुर नगरपालिकाको ज्योतिनगर बस्ने ४० वर्षीय ललित साउद र टीकापुरकै व्यवसाय क्षेत्र घर भएका ४५ वर्षीय चन्द्र साउद छन् । मृतक नेपालीमध्ये १ जना महिलाको पहिचान खुल्ने नसकेको भनेर उत्तर प्रदेश प्रहरीबाट खबर प्राप्त भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जानकारी दिएको छ ।

भारतको गुजरातबाट नेपालको सीमावर्ती क्षेत्र पलियातर्फ आउँदै गरेको यात्रुवाहक बस सोमबार बिहान उत्तर प्रदेशको लखनउमा दुर्घटना हुँदा ३ जना नेपालीसहित ४ जनाको मृत्यु भएको हो । मृत्यु हुनेमा १ जना बसका चालक रहेका जनाइएको छ ।
दुर्घटनामा करिब १५ जना घाइते भएका जनाइएको छ । उनीहरुलाई उपचारका लागि अस्पताल भर्ना गरिएको दुर्घटनाग्रस्त बसमै सवार कैलालीको टीकापुरका दीपेन्द्र साउँदले जानकारी दिए ।
