अत्तरिया – बर्षैदेखि छाडा चौपायको व्यवस्थापनका लागि राज्यले करोडौं खर्च गरिसकेको छ । सुदूरपश्चिमको तराइका जिल्लामा ठूलो समस्याका रुपमा रहेको छाडा चौपाया व्यवस्थापनको लागि तिनै तहका सरकारले योजना अगाडी सारेको भएकोपनि सफल हुन सकिरहेका छैनन् । छाडा चौपायाको व्यवस्थापनको लागि गौशाला निर्माण गरिदै आएको भएपनि त्यसको उत्तरदायीत्व सामाजले नलिदा समस्या ज्यूँ ता त्यूँ छ ।

यसै समस्याबाट पीडित कैलालीको गोदावरी नगरपालिका – ८ स्याउलेका स्थानीयले छाडा चौपाया सामाधानका लागि आफै अग्रसर भएका छन् । स्थानीयले स्याउलेमै रहेको समैजी विश्वनाथ महादेव शिव मन्दिरमा श्रीमद्भगवत सप्ताह ज्ञान महायज्ञ आयोजना गर्न लागेका हुन् ।

जसको मुख्य लक्ष्य स्याउले बजारमा भएको छाडा चौपायाको व्यवस्थापन गर्नु रहेको छ । स्थानीय बजार व्यवस्थापन समितिका अध्यक्ष्य गोपाल देउवाको संयोजकत्वमा बनेको समितिले मन्दिर व्यवस्थापन समिति, स्थानीय सामुदायिक वन, युवा क्लवहरुको सहयोगमा महायज्ञ आयोजना गर्न लागिएको जनाएको छ ।
संयोजक देउवाले महायज्ञ लगाउनुको कारण धर्म जोगाउनुका साथै मन्दिरको स्तरोन्नती र छाडा पशु चौपायाको व्यवस्थापन गर्ने रहेको बताए । ‘महायज्ञबाट उठेको रकमले गौशाला निर्माण गरेर छाडा पशु चौपायाको व्यवस्थापन गर्ने हाम्रो मुख्य लक्ष्य हो’ उनले भने ‘गाईको दुध खाएर सडकमा अलपत्र छोड्ने गर्दा अहिले चौपायाको दुर्दसा भएको छ । यस्ता चौपायाको संरक्षणका लागि महायज्ञबाट गौशाला निर्माण गरिने छ ।’ उनले महायज्ञमा धेरै भक्तालुहरुले ज्ञान आजर्न गर्ने अपेक्षा लिएको बताए ।
महायज्ञमा श्रृङ्गारिक कथावाचक अच्युतशरण महाराजले कथावाचन गर्ने छन् । उनले महायज्ञबाट मन्दिरको स्तरोन्नती संगै गौ संरक्षणमा सहयोग पुग्ने अपेक्षा लिएको बताए । ‘यहाँ गौशाला छ तर, गाई बस्नको लागि छानो समेत छैन् । टहरो छैन’ उनले भने ‘मैले यहाँ कथा गरेर केही मन्दिरलाई पनि होस, केही गौ संरक्षणमा पनि सहयोग पुगोस् भनेर यसमा अघि सरेको हो । गाई आमा सरह हो तर यहाँ दुध दिने बेला सम्म गाइलाई पाल्छन त्यसपछि सडकमा छोड्छन । जुन निकै दुखदायी कुरा हो ।’

उनले मन्दिर परिसरमा पछिल्लो सयम अनैतिक गतिबिधि समेत हुन थालेकाले महायज्ञले त्यस्ता गतिबिधि निरुत्साहित गर्न मदत गर्ने बताए । उनले देशभरी नै गौ सरक्षणको अभियान संचालन गर्दै आइरहेको बताए ।
मन्दिर व्यवस्थापन समितिका अध्यक्ष प्रेम बोगटी महायज्ञ आयोजना गर्ने घोषणा गर्न पाउँदा निकै गौरभको महशुस गरिएको बताए । उनले भने ‘२०७२ सालमा स्थापना गरिएको मन्दिरमा स्थानीयको सहयोगमा निर्माण गरिएको थियो । चन्दा संकलन गरेर मन्दिर निर्माण गरिएको हो ।’
उनले पहिलेदेखि नै यो मन्दिरमा सप्ताह महायज्ञ लगाउने सोच भएपनि अहिले आएर आकाक्षा पुरा हुन लागेको बताए । उनले महायज्ञ लागेपनि मन्दिर थप व्यवस्थित बन्ने बताए ।
स्थानीय जगत्रा सिहले छाडा चौपायाको व्यवस्थापनका लागि महायज्ञ लगाउनु अहिलेको आवश्यकता भएको बताईन् । ‘हामी सबै एक जुट भएमा महायज्ञ सफल हुनेमा हामी विश्वस्त छौ’ उनले भनीन् ‘हामीले पहिलेदेखि चलिआएको रितीरिवाज लाई जोगाउन पनि महायज्ञले महत्तपूण भूमिका खेल्छ ।’
स्थानीय टेक बहादुर देउवाले सनातन धर्मको रक्षाको लागि महायज्ञको महत्तपूर्ण भूमिका हुने बताए । ‘यहा दुध खाएर गाइलाई लखेट्ने काम धर्म विपरितकै हो । टिका लगाएर मात्रै हुँदैन् । हिन्दु धर्मको महत्तपूर्ण गाई लखेटेर धर्मको संरक्षण हुँदैन’ उनले भने ‘अब महायज्ञबाट गाइ संरक्षणको लागि काम गर्न सकिने हामीले अपेक्षा लिएका छौ ।’
स्थानीय केशव विनाडीले महायज्ञबाट गौशाला निर्माण गर्न सकियो भने महान कार्य भएको ठहरीने बताए ।
