खेलाडी उत्पादनमा अब्बल कञ्चनपुरको धर्मजनता मावि

कञ्चनपुर – कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ स्टेशनपुरकोल धर्म जनता माध्यमिक विद्यालयका विद्यार्थी खेलकुदका क्षेत्रमा जिल्लामै अब्बल देखिएका छन् । राष्ट्रिय खेलकुद प्रतियोगितामा विद्यालयका विद्यार्थीले सहभागिता जनाउँदै आएका छन् । सातौँदेखि नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गरी १९ विद्यार्थीले सहभागिता जनाइ पदक जितेका छन् ।

maya metro hospital

विद्यालयका खेल शिक्षक गणेशसिंह धामीका अनुसार सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा दुई, आठौँमा सात र नवौँमा ११ जना विद्यार्थीले सहभागिता जनाएका थिए । ‘सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सेपाक्ताक्रोमा विद्यालयकी छात्रा शर्मिला दमाइले गोल्डमेडल जित्न सफल हुनुभएको थियो’, शिक्षक धामीले भने ‘गत असोजमा पोखरामा सम्पन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामामा विद्यालयकी छात्रा लक्ष्मी साउदले एथलेटिक्सतर्फको दुई सय मिटर दौडमा कास्य पदक जित्नुभएको छ ।’

joshi vada pasal 2

कास्य पदक विजेता साउद अहिले नेपाल प्रहरीको क्लबमा आबद्ध छन् । सातौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा गोल्डमेडल विजेता शर्मिला दमाइ अहिले नेपाली सेनामा कार्यरत छिन् । नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा भलिबलमा चार, कबड्डीमा तीन र एथ्लेटिक्समा चार गरी ११ जना विद्यार्थीले सहभागिता जनाएका थिए । जसमध्ये १० जना छात्रा मात्रै छन् ।

एथ्लेटिक्समा एक जनामात्रै विद्यालयका छात्र जनक धामी ज्याब्लिङ थ्रोमा सहभागी थिए । कबड्डीमा सहभागी विद्यालयकी छात्रा कलावती पन्त एसियन गेममा सहभागी हुनका लागि बन्द प्रशिक्षणका लागि छनोट भएकी छिन। जिल्ला छनोट प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्दै विद्यालयका १२ विद्यार्थीले कञ्चनपुरको टिमबाट प्रदेश छनोट प्रतियोगितामा भाग लिने अवसर प्राप्त गरेको विद्यालयका प्रद्यानाअध्यापक पीताम्बर जोशीले बताए ।

उनका अनुसार विद्यालयकी छात्रा लक्ष्मी साउदले सो प्रतियोगितमा दुई सय मिटर दौडमा कास्य, चार सय मिटर रिलेदौडमा रजत पदक दिलाउन सफल भएकी थिइन् । गत असोजमा महेन्द्रनगरमा आयोजना भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा नगरपालिकाबाट १४ खेलमा ४० विद्यार्थी यस विद्यालयबाट सहभागी भएकामा ११ जनाले स्वर्ण, छ जनाले रजत र छ जनाले कास्य पदक जितेर जिल्लामा नगरपालिकालाई दोस्रो स्थान हासिल गराउन सकेको प्रद्यानाअध्यापक जोशीले बताए ।

विद्यालयले खेलकुद शिक्षक नियुक्त गरी विद्यार्थीलाई नियमितरूपमा प्रशिक्षणको कार्य गराउँदै आएको छ । यसकै परिणामस्वरुप विद्यार्थी पढाइसँगै खेलकुदका क्षेत्रमा अब्बल आउन थालेका हुन् ।

बाह्रै महिना खेलकुदमा रुचि भएका विद्यार्थीलाई सहभागी गराई प्रशिक्षण दिइने गरिएको छ । झण्डै एक दशकदेखि खेलकुदसम्बन्धी पढाइ गरेका शिक्षकले विद्यार्थीलाई खेलकुदसम्बन्धी शारीरिक प्रशिक्षणट्रेनिङ देखि खेलकुद सम्बन्धीका आवश्यक सीप सिकाउँदै आएका छन । कक्षा १० देखि १२ सम्मका विद्यार्थीलाई खेलकुद प्रतियोगितामा सहभागी गराउँदै आएको खेलकुद शिक्षक धामीले बताए । प्रशिक्षणमा भने कक्षा ८, ९, १०, ११ र १२ का विद्यार्थीलाई सम्मिलित गराइँदै आएको छ ।

raunak fals and silling

‘भलिबल, कबड्डी र क्रिकेट विधामा विद्यार्थीलाई प्रशिक्षण दिँदै आएका छौँ’ उनले भने ‘खेलकुद सामग्री छन् तर पर्याप्त छैनन्, प्रशिक्षण विद्यालयको चौरमा खुला आकास मुनि दिने गरेका छौँ, खेलकुदसम्बन्धीका आवश्यक उपकरणको अभाव छ ।’

शैक्षिकसत्र सुरु भएपछि नियमित पठनपाठनको कार्यसँगै वार्षिक कार्यतालिकाअनुसार हरेक शुक्रबार र महिनाको अन्तिम दिन अतिरिक्त क्रियाकलाप, सहक्रियाकलाप र खेलकुदका कार्यक्रम विद्यालयले सञ्चालन गर्दै आएको छ ।

‘विद्यार्थीबीच प्रतिस्पर्धाको भावना जागृत गराउन चारवटा समूह बनाइ बौद्धिक र खेलकुद विधाका कार्यक्रम सञ्चालन गरिँदै आएको छ’, विद्यालयका प्रद्यनाअध्यापक जोशीले भने ‘चालु शैक्षिकसत्रको हालसम्म तहगत, सदनात्मक र कक्षागत गरी बौद्धिक विधाका २० वटा कार्यक्रममा ७८ विद्यार्थीलाई पुरस्कृत गरेका छौँ, खेलकुदका १७ इभेन्टमा दुई सय १७ छात्रछात्रालाई पुरस्कृत गरिएको छ ।’

विद्यालयका आन्तरिक प्रतिस्पर्धाका कार्यक्रमले जिल्लास्तरीय, प्रदेशस्तरीय र राष्ट्रियस्तरका प्रतियोगितमा विद्यार्थीलाई प्रतिस्पर्धा गरी पदक जित्न सघाउ पुग्दै आएको उहाँको भनाइ छ । नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत टिकेन्द्रराज भट्टले नगरपालिकामा रहेका ३२ वटा सामुदायिक विद्यालयमध्ये धर्म जनता खेलकुदमा उत्कृष्ट रहेको बताए ।

‘तीनवटा राष्ट्रिय खेलकुद प्रतियोगितमा विद्यालयका विद्यार्थीले सहभागिता जनाइ पदक जित्नु नगरकै गौरवको विषय हो’, उनले भने ‘विद्यालयको भौतिक पूर्वाधार विकाससँगै नगरपालिकाले खेलकुदका पूर्वाधार निर्माणका लागि लगानी गर्ने भएको छ, नगर क्षेत्रमा कभर्डहल निर्माणका लागि चालु आवमा रु ५० लाख बजेट विनियोजन गरिएको छ, हल निर्माणका लागि जग्गा खोजीको कार्य भइरहेको छ ।’

विद्यालयका विद्यार्थीको प्रशिक्षणका लागि भौतिक पूर्वाधार निर्माण गर्न र आवश्यक खेलकुद सामग्रीको अभाव पूर्ति गर्नका लागि आगामी नगरसभाबाट केही बजेट विनियोजन हुने र अपुग रकम प्रदेश र सङ्घीय सरकारबाट जुटाइने उनले बताए ।

विद्यालय विसं २०२६ मा स्थापना भएको हो । विद्यालयले हालसम्म कक्षा १० का २५ ब्याच र ११ ब्याचले १२ कक्षा पूरा गरेका छन् ।

विद्यालयको स्वामित्वमा २८ हजार आठ सय ४० वर्गमिटर जमिन रहेको छ जसमध्ये आठ हजार चार सय ६६ वर्गमिटर जग्गा खेती उद्देश्यका लागि प्रयोग भइरहेको छ भने बाँकी जग्गामा विद्यालयक भवन, खेलमैदान र चारैतिर विद्यालयको निजी वन छ ।

रासस

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.