धनगढी – सुदूरपश्चिम प्रदेशमा सबैभन्दा ठूलो दल रहेको नेपाली कांग्रेसले अझै संसदीय दलको नेता चयन गर्न सकेको छैन । प्रदेशमा प्रतिनिधित्व गर्ने अन्य दल एमाले, माओवादी केन्द्र, नागरिक उन्मुक्ति र नेकपा एकीकृत समाजवादीले दलको नेता छनोट गरिसक्दा पनि कांग्रेस भने अझै अन्योलमै छ ।

कांग्रेसका आधा दर्जन प्रदेशसभा सदस्य दलको नेता बन्न लागिपरेका छन् । प्रकाशबहादुर देउवा, बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमलबहादुर शाह, प्रकाशबहादुर बम र मेघराज खड्का गरी ६ जनाले संसदीय दलको नेतामा दाबेदारी गरेका छन् ।


प्रदेश महामन्त्री समेत रहेका प्रदेशसभा सदस्य मेघराज खड्काले मंगलबार पदाधिकारीको बैठकमा दलको नेताका आकांक्षीहरुले आआफ्नो धारणा राखेको बताए । संसदीय दलको नेतामा खड्का, बहादुरसिंह थापा, दिवानसिंह विष्ट, कमल शाह, शिवराज भट्ट र प्रकाश देउवाले आकांक्षा राखेका छन् ।
बैठकमा उनीहरु सबैलाई पालैपालो धारणा राख्न समय दिइएको थियो । सकेसम्म दलको नेता सर्वसम्मत रुपमा चयन गर्न प्रदेश पदाधिकारीले सुझाव दिएको खड्काले बताए । सहमति नभए निर्वाचन समिति बनाएर चुनावमा जाने विषयमा समेत छलफल भएको जानकारी दिए ।
अबको केही दिनमै दलको नेता चयन हुने बताउँदै कांग्रेसका प्रदेश महामन्त्री खड्काले पुस २८ गते बस्ने प्रदेशसभाको बैठक अगावै दलको नेता चयन हुने बताए । प्रदेशसभा कांग्रेस १९ सिटसहित पहिलो स्थानमा छ भने माओवादी केन्द्रका ११, नेकपा एमालेका १०, नागरिक उन्मुक्ति पार्टीका ७, नेकपा एसका ४, राप्रपाका १ र स्वतन्त्र १ गरी ५३ सांसद छन् ।
