थारु समुदायमा माघीको चहलपहल

देउखुरी – माघेसङ्क्रान्ति अर्थात् थारुजातिको विशेष पर्व माघी नजिकिएसँगै दाङका आदिवासी थारु बस्तीमा चहलपहल बढेको छ ।
थारु जातिको सबैभन्दा ठूलो पर्व माघीको रौनक छाएको छ । थारु समुदायले नयाँ वर्षका रुपमा यो पर्व मनाउने गर्दछन् । यो पर्वका अवसरमा थारु समुदायमा गाउँका महतवा (अगुवा) को घरमा जम्मा भएर वर्षभरिको योजना बनाउने परम्परा छ ।
थारु बस्तीमा खानपिन र नाचगानको तयारी भइरहेको घोराही उपमहानगरपालिका–१७ पचुर्खाका विष्णु चौधरीले बताए । माघि नजिकिएसँगै थारु समुदाय काममा जुटेका छन् । माघीपर्व आउनुभन्दा एक महिनाअघिदेखि विभिन्न तयारी गर्ने चलनअनुसार आजभोलि तयारी भइरहेको छ ।

maya metro hospital

गाउँगाउँमा रातभर आगो बाल्ने चलनअनुसार दाउरा सङ्कलन, धान, चामल कुटानीपिसानी, जाँड बनाउने र अन्य खानाका परिकारको चाँजोपाजो मिलाउन थारु समुदायका महिला व्यस्त रहेको उनले बताए । ढिक्री पकाउने, अनदीको विशेष झोल (जाँड), अनदीको रोटी, भातलगायत विशेष मिठामिठा परिकारको जोहो गर्ने चलन छ ।

joshi vada pasal 2

थारु समुदायका व्यक्तिले माघीको अघिल्लो दिन रातभरि आगोको धुनी बालेर ताप्ने गर्दछन् । गाउँभरिका मानिस एकै ठाउँ जम्मा भएर आगो ताप्ने र भालेबासेसँगै नदी या खोलामा नुहाउने गर्दछन् । नुहाएर आएपछि आफूभन्दा ठूलालाई ढोगगरी घरमा आएपछि खिचडी दान गर्ने प्रचलन थारु समुदायमा छ । खिचडीमा मासको दाल, चामल र नुन राखिएको हुन्छ । यो खिचडी पुर्खा, देवीदेवता र चेलीबेटीका लागि छुट्याइएको हुन्छ । छुट्याइएको खिचडी घरका सदस्यले खान मिल्दैन र त्यो पाहुर (कोसेली)का रुपमा चेलीबेटीका घरमा पु¥याउने प्रचलन रहेको मतहवा सङ्घका जिल्ला अध्यक्ष चन्द्रप्रसाद चौधरीले बताए ।

माघको अघिल्लो दिन बिहानै गाउँघरका किसान जम्मा भई बङ्गुर, सुँगुर (थारु भाषामा जिता मार्ना) मारेर बराबरी बाँड्ने चलन छ । माछासँगै गँगटा र घोङ्गीको विशेष परिकार बनाएर खाने गरिन्छ । माघीका अवसरमा ‘मघौटा नाच’ नाच्ने गरिन्छ । यो नाच शृङ्गार र करुण रसले भरिएको थारु अगुवा पूर्ण चौधरीले बताए ।

raunak fals and silling

“थारु समुदायमा माघी पर्वलाई नयाँ वर्षका रुपमा पनि लिने गरिन्छ, पुस मसान्तमा आ–आफ्नो लेनदेन, हरहिसाब चुक्ता गर्ने र माघको १ गतेदेखि नयाँ हिसाबकिताब सुरु गर्ने चलन छ, माघीमा नै घरपरिवारभित्र होस् या गाउँ समुदायमा आगामी वर्षका लागि खेतीपातीलगायतका अन्य व्यवहारको नवीकरण गरिन्छ”, चौधरीले भने ।

माघलाई विभिन्न ठाउँका थारु समुदायले आआफ्नो परम्पराअनुसार माघ, खिचरा, तिला सङ्कराइत नामले मनाउँदै आएको पाइन्छ । केही वर्ष पहिले थारु समुदायका अधिकांश छोरीहरू कमलरी थिए । उनीहरू माघीका दिनमा मात्रै छुट्टी पाउँथे त्यसैले यसलाई उनीहरूले मुक्ति दिवसका रुपमा मनाउने गरेको मुक्त कमलरी विकास मञ्चका केन्दीय अध्यक्ष हिरा चौधरीले बताए ।

माघको तयारीमा ढिक्री, रोटी, जाँड पकाउने काम सुरु भएको घोराही –१७ कर्जाहीका राजकुमारी चौधरीले बताए । “ढिक्री, रोटी, माछा र घोङ्गीको परिकार बनाउँदै छौँ, माघीको सम्पूर्ण तयारी भइरहेको छ”, उहाँले भने, “खानाको परिकार बनाउनका लागि एक महिनाअघिदेखि तयारी गर्नुपर्ने हुन्छ, घर बाहिर भएका मानिस घरमा आउँछन्, गाउँमा छुट्टै चहलपहल र भेटघाट हुने भएकाले रमाइलो हुन्छ, कर्जाही थारु समुदायको बाक्लो बस्ती भएको ठाउँ हो, अन्य खेतीपातीका काम छिटो सकेर आरामले माघ मान्ने तयारीमा गाउँघरका आमाबाबा, दाजुभाई दिदीबहिनी जुट्नुभएको छ ।”

थारु समुदायले माघमै आफ्नो मुखिया, चौकीदार, घरको मूली चुन्ने, नयाँ नियम लागू गर्ने, संशोधन गर्ने भएकाले पनि यसलाई विशेषरुपमा लिइँदै आएको महेन्द्र मावि धर्नाका शिक्षक घोराही–६ का भीमबहादुर चौधरीले बताए । उनले वर्षभरिको योजना माघमा बनाइने भएकाले पनि थारु समुदायका लागि महत्वपूर्ण रहेको बताए । उनले माघमा नाचगान, खानपिनलाई विशेष महत्वका साथ हेर्ने गरेको बताए । “पुसको २५ देखि माघको ५ गतेसम्म गाउँघरमा मघौटा नाच हुने गर्दछ, त्यसको तयारी एक महिनाअघिदेखि गरिन्छ”, उहाँले भने ।

रासस

indreni vansa ghar
सम्बन्धित पाेस्टहरु
प्रतिक्रिया दिनुहोस

Your email address will not be published.