अत्तरिया – कैलालीको अत्तरियामा मेलमिलापको औचित्यका बारेमा अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको छ । नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ कार्यसमितिले ४६औ राष्ट्रिय मेलमिलाप दिवसको अवसरमा कार्यक्रमको आयोजना गरेको हो । कार्यक्रममा बोल्दै नेपाली कांग्रेसका नेता एवम् पुर्व बन राज्यमन्त्री दिर्घराज भाटले राष्ट्रलाई बाह्य शक्तिहरुको चुंगुलबाट बचाउन विपि कोईरालाले मेलमिलापको अवधारणा ल्याएको बताए ।

‘२०३३ साल ताका दक्षिण एशियाका देशहरु नै संकटग्रस्त क्षेत्रका रुपमा रहेका थिए, किनकी त्यसबेला शितयुद्ध चरमचुलीमा पुगेको थियो’ उनले भने ‘रुस र अमेरीकाका जासुसी संस्थाहरुबिच पनि मुटभेड थियो, त्यसताका विदेशी कम्युनिष्टहरुले भित्रभित्रै संगठन गरी द्धन्द गरेर देशहरुबिच कब्जा गर्ने गर्दथे । त्यसबाट देशलाई बचाउन विपिले यो योजना बनाउनुभएको हो ।’ उनले भारतमा रहेका विपि कोईरालाले देश बचाउन आफुमाथी ७ वटा मुद्धाहरु लागेका भएपनि स्वदेश फर्किएर मेलमिलापको निति अबलम्बन गरेको बताए । उनले राष्ट्र निर्माणको निति लिएर स्वदेश फर्किएका विपि कोईरालालाई एयरपोर्ट बाटै पक्राउ गरिएको बताए ।

उनले राष्ट्रिय मेलमिलाप भनेको पञ्चायत सँगको मेलमिलाप नभई विदेशी देशका जासुसी संस्थाहरुले गर्ने राष्ट्रियता माथिको खतराको विरोध मात्रै भएको बताए । ‘राष्ट्रियताको सवालमा सरकारसँग मेलमिलापको निति हो’ उनले भने ‘विपिले त्यसताका पनि सरकारसँगको प्रजातन्त्रको सम्बन्धमा भने राजा सँगको लडाई जारी रहेको बताउनुभएको थियो ।’ उनले राष्ट्रियता माथि परेको खतरा निम्ट्याउनका लागी नै राष्ट्रिय मेलमिलापको निति अपनाईएको र २०३३ सालदेखी कांग्रेसले निरन्तर रुपमा उक्त दिवस मनाउदै आएको बताए । उनले अझै पनि राष्ट्रमाथीको खतरा टरिसकेको अवस्था नरहेको बताए ।
यस्तै नेपाली कांग्रेस कैलाली क्षेत्र नं. ४ का सभापति बसन्त रोकायाले विपिको राष्ट्रियता बचाउने नितिका रुपमा मेलमिलाप निति रहेको बताए । उनले देश संकटमा परेको बेला कांग्रेसले नै पार लगाउछ भन्ने एउटा उदाहरणका रुपमा पनि राष्ट्रिय मेलमिलाप निति रहेको बताए । उनले पछिल्लो सरकार निर्माणले कांग्रेसका कार्यकर्ताहरुको मनोबल केही घटेपनि अझै पनि देशलाई आवश्यक परेका बेला कांग्रेस अग्रपंतीमा रहने भएकाले निराश नहुन आग्रह गरे ।
‘पछिल्लो समय नेपाली कांग्रेसका कार्यकर्ताको मनोभावना एकदमै कमजोर बनेको छ’ उनले भने ‘नआत्तिनुस, हिजोका दिनमा राजाका मुर्तिहरु फुटाउने, दौरा सुरुवाल लगाएकालाई खुकुरी हान्ने आतंककारीहरुलाई सत्तामा ल्याएर देशमा शान्ति र अमनचयन कायम गर्ने पार्टि कांग्रेस नै हो । हिजो अरुलाई खुकुरी हान्ने व्यक्ति आज आफै दौरा सुरुवाल लगाएर गएका छन, त्यो नै कांग्रेसको जित हो ।’ उनले कांग्रेस हारेको नभई लुटिएको बताए । ‘भित्रि पाप बोकेर हिडिरहेका मानिससँग हिडेको परिणाम हो’ उनले भने ‘विस्वासघातीहरुलाई साथमा लिएर हिड्नु कांग्रेसको गल्ती हो ।’ उनले अझै पनि कांग्रेस प्रतिपक्षमा बसेर पनि देशको समृद्धिका लागी आवाज बुलन्द पार्ने र देश संकटमा परेका बेला अग्रसर रहने बताए ।
मेडिकल कलेज र राजधानी निर्माणको माग
यसैबिच सोही कार्यक्रममा बोल्दै क्षेत्रिय सभापति रोकायाले गेटा मेडिकल कलेजको यथाशिघ्र सञ्चालन र राजधानी निर्माणको कार्य अघि बढाउन सरकारसँग माग गरे । उनले करोडौ खर्च गरेर निर्माण गरिएका भौतिक संरचनाहरु जिर्ण हुने अवस्थामा पुग्दा समेत मेडिकल कलेज सञ्चालन हुन नसक्नु दुखद कुरा भएको समेत बताए ।
उनले मेडिकल कलेज निर्माणका लागी कांग्रेसको क्षेत्रिय कार्यसमिती सदैब अग्रपंतिमा रहेर लागिपर्ने बताए । यसैगरी उनले सुदूरपश्चिम प्रदेशको राजधानी निर्माणको काम पनि तत्काल रुपमा अघि बढाउनुपर्ने बताए । ‘दुईतिहाई बहुमतले पारित भएको राजधानीमा अहिलेसम्म केही पनि संरचनाहरु बन्न सकेका छैनन’ उनले भने ‘राजधानी निर्माणको कार्यलाई यथाशक्य रुपमा अघी बढाउन हामी निरन्तर खबरदारी गर्नेछौ ।’