कञ्चनपुर – शुक्लाफाँटा नगरपालिका– ७ जुडाका सिद्धबहादुर धामीले झलारी बजारमा सञ्चालन गर्दै आएको किराना पसल कोरोनाको सङ्क्रमण फैलिएपछिको बन्दाबन्दीका कारण छाड्नु प-यो ।

कोरोना सङ्क्रमणअघि किराना पसलबाट चाहेजस्तो आम्दानी भइरहेको थियो । ‘कोरोनापछि पसलमा ग्राहक आउनै छाडे’ उनले भने ‘घर मालिकले समयमै भाडा तिर्न निकै दबाब दिएपछि अन्ततः पसल छाड्नु प-यो ।’ यद्यपि पसलबाट भएको आम्दानीबाट केही रकम बचत पनि थियो ।

उनले पसल छाड्ने बेलामा काकाले टर्कीपालनबाट राम्रो आम्दानी गरिरहनुभएको थियो । एउटै टर्की बेच्दा चार हजार आम्दानी भएको देखँे पछि उनी पनि पशुपक्षीपालनमा आकर्षित भए । तर उनीसँग ज्ञान भने थिएन ।
पशुपक्षीपालनअघि केही जानकारी इन्टरनेटबाट लिए भने केही जानकारी काकासँग लिए । नगरपालिकामा फार्म दर्ता गरेपछि उनले लौकाट, स्थानीय जातका कुखुरा, चिनियाँ हाँस, कालिज, टर्की, बट्टाई, बङ्गुरपालन सुरु गरे ।
‘सुरुमा अनुभव नहुँदा तीन सय कुखुरा र दुई दर्जनभन्दा बढी टर्कीका बच्चा मरे’ उनले भने, ‘नोक्सानी भए पनि त्यसबाट पाठ सिक्दै काम जारी राखे अहिले राम्रो आम्दानी भइरहेको छ ।’

पशुपक्षीपालन गर्नका लागि स्थानीयस्तरमै पाइने बाँसको प्रयोग गरी फार्म तयार गरिएको छ । कुखुरा, हाँस, कालिज टर्की, बट्टाई, बङ्गुरका लागि अलग–अलग रुपमा फार्म बनाइएका छन् । त्यसका लागि उनले पाँच लाख लगानी गरेका छन ।
पशुपक्षीका लागि उनले चारो र औषधिमा मात्रै मासिक ३५ हजार खर्च गर्दै आएका छन । फार्ममा धामी दम्पती दिनरात खटिन्छन ।
‘बिहानीको झिसमिसेदेखि साँझ अबेरसम्म दुवै जनाको समय फार्मको काममै बित्छ’ उनले भने ‘समय बितेको पत्तौ नै हुँदैन, मेहनत गरे अनुसारको आम्दानी हात लाग्दा निकै खुसी छौँ ।’
वार्षिक रुपमा खर्च कटाएर रु दुई लाखदेखि रु तीन लाखसम्म आम्दानी भइरहेको उनले सुनाए । यस वर्षको उनले दुई सय वटा टर्की दुई लाखमा बिक्री गरिसकेका छन । त्यसबाहेक रु ५० हजारका कालिज, रु २० हजार, रु २५ हजारका चिनियाँ हाँस पनि बिक्री भइसकेका छन् ।
त्यसबाहेक उनको फार्ममा तीन लाखका लौकाट, रु दुई लाखभन्दा बढीका लोकल कुखुरा र एक लाख २० हजारभन्दाबढीका छ वटा बङ्गुर बिक्रीका लागि तयारी अवस्थामा छन् ।
स्थानीय बजारका व्यापारीसँगै धनगढी, महेन्द्रनगर लगायतका व्यापारी फार्ममै पुगेर पशुपक्षी खरिद गरेको उनकोे भनाइ छ । ‘बजार खोज्दै हिँडनु परेको छैन, व्यापारीले फोनमै कुरा गरेर गाडी ल्याएर नगद रकम दिएर पशुपक्षीको तौल गरी लैजाने गरेका छन’ उनले भने ‘विगतमा किराना पसल सञ्चालन गर्दा सामान उधारो जाने समस्या अहिले छैन कारोबार नगदमै हुने भएकाले म सन्तुष्ट छु ।’
फार्मबाट भएको आम्दानीबाट उनले ह्याचरी मेसिन खरिद गरेका छन । मेसिनमा कालिज टर्की, बट्टाई, चाइनिज हाँस र स्थानीय जातका कुखुराका अण्डा राखेर चल्ला उत्पादन गरी बेच्ने योजना उनले बनाएका छन । फार्म नजिकै रिसोर्ट खोलेर व्यवसाय बिस्तार पनि गर्ने उनले योजना रहेको सुनाए ।
धामी दम्पतीले स्नातक तहसम्मको अध्ययन गरेका छन । उनका बुवा स्थानीय विद्यालयमा शिक्षक छन । ‘पढे लेखेर नोकरी गर्ने र विदेश जाने हाम्रो समाजको मानसिकता छ, त्यसलाई प्रोत्साहित पनि गरिन्छ’, उनका वुवाले भने ‘घरमै बसेर पनि व्यवसाय गर्न सकिन्छ भन्ने मानसिकता तयार गर्न जरुरी छ ।’
रासस
