सत्तारुढ दलबीच आगामी सरकार गठनका लागि सहमति जुटाउन बसेको बैठक बिना सहमति टुंगिएको छ । बैठक भोलि बिहान बस्ने गरी टुंगिएको सरकारका प्रवक्तासमेत रहेका कांग्रेस सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले बताए ।


पाँच दलीय सत्ता गठबन्धनको बैठक सकारात्मक रुपमा अघि बढेको कार्कीले दाबी गरे । ’प्रधानमन्त्री को पहिले बन्ने भन्ने कुरा गौण हो, मुलुकलाई जनताको आकंक्षाअनुसार अघि बढाउनु महत्वपूर्ण कुरा हो,’ कार्कीले भने, ’भोलि तपाईहरुले निर्णय पाउनुहुन्छ ।’

आइतवार निर्णयमा पुग्नुपर्ने संवैधानिक बाध्यता रहेको कार्कीको भनाई थियो । राष्ट्रपति विद्यादेवी भण्डारीले नयाँ सरकार गठनका लागि राजनीतिक दलहरुलाई दाबी पेस गर्न दिएको समय सीमा आइतबार सकिँदैछ । प्रतिनिधिसभामा कांग्रेस ८९ सिटसहित ठूलो दलका रूपमा रहेको छ ।
प्रधानमन्त्रीमा कांग्रेस र माओवादीले दाबी गर्दै आएको छ । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्रीमा दाबी गरेपछि कांग्रेसले मनाउने कोशिश जारी राखेको छ ।
