दार्चुला – दार्चुलास्थित महाकाली नदीमा भारतीय पक्षले नदीको धार परिवर्तन गर्ने गरि फेरि तटबन्ध निर्माणको काम अगाडि बढाएको छ । भारतीय पक्षले एकलौटी तरिकाले बलमिच्याइँ गरेर महाकाली नदीको धार नेपालतिर फर्काउने गरि तटबन्ध निर्माणको काम गरिरहेको हो ।
बिहीबार महाकाली नगरपालिका–४ बांगाबगर क्षेत्रमा महाकाली नदी फर्किने गरि भारतीय पक्षले तटबन्ध निर्माणको काम गरेको स्थानीय अमन बोहराले बताए ।

‘भारतीय पक्षले दादागिरी गर्दै नदी हाम्रोतिर फर्काउने गरि काम गरिरहेको छ, हामीले प्रशासनलाई खबर गरेका छौँ’ उनले भने, ‘महाकाली बिचबाट बग्ने गरि काम गर्नु पर्छ ।’


नेपालीको विरोध पछि अहिले भारतीय पक्षले काम रोकेको बोहराले बताए । तटबन्ध निर्माणको क्रममा दार्चुलामा तनाव हुने गरेको छ । यसअघि पनि महाकाली वारि र पारीका नागरिकबीच ढुङ्गा हानाहान नै भएको थियो ।
यो घटनामा ७ जना नेपाली नागरिक विरुद्ध भारतमा जाहेरी नै परेको छ । भारतीय पक्षले तटबन्ध निर्माणका क्रममा विवाद भएपछि केही साता अगाडि नेपाल र भारतका स्थानीय प्रशासनबीच छलफल भएको थियो । सो छलफलमा महाकाली नगरपालिका–४ रिङे ताल क्षेत्रमा महाकालीको धार नेपालतिर फर्काउने गरि बनाइएको संरचना १० दिनभित्र हटाउन भारतीय पक्ष सहमत भएको थियो ।
तर सो समय घर्केको लामो समय बितिसक्दा पनि भारतीय पक्षले संरचना हटाएको छैन । भारतीय पक्षले फेरि महाकाली नेपालतिर फर्किने गरि बांगाबगर क्षेत्रमा तटबन्ध बनाइरहेको हो ।
