बैतडी – बैतडीको पाटनमा गत शनिबार मृत अवस्थामा फेला परेका शिक्षक धनबहादुर विष्टको हत्या भएको खुलेको छ । सुर्नया गाउँपालिका –२ ग्वानी घर भई पाटनस्थित कृष्ण माविमा पढाउँदै आएका विष्टको हत्या गरेको अभियोगमा दुई जना पक्राउ परेका छन् ।


कृष्ण माविमा कम्प्युटर डिप्लोमा अध्ययनरत पुर्चौडी नगरपालिकाकी विमला बोहरा र उनका श्रीमान् प्रजा बोहरालाई प्रहरीले पक्राउ गरेको छ । उनीहरू श्रीमान–श्रीमती हुन् ।

दुवै जनालाई इलाका प्रहरी कार्यालय पाटनको हिरासतमा राखिएको छ । जिल्ला प्रहरी कार्यालय बैतडीले पत्रकार सम्मेलनमार्फत उनीहरुलाई सार्वजनिक गर्ने तयारी गरेको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रहरी नायव महानिरीक्षक मोहनकुमार आचार्यले बताए ।
