अत्तरिया – कैलालीको गोदावरी नगरपालिकाले आजदेखि खोलानालाबाट नदीजन्य पदार्थ खुला गरेको भएपनि शुल्क बढाएको भन्दै ट्याक्टर व्यवसायी आन्दोलित भएका छन । छैटौं पटक टेण्डर खोल्दा पनि ठेकेदार नपाएपछि नगरपालिकाले आजदेखि आफै शुल्क उठाएर नदीजन्य पदार्थ खुला गर्ने निर्णय गरेको थियो ।

तर, गत बर्षको भन्दा शुल्क बढी भएको भन्दै स्याउले, खुटीया, बल्मी ट्याक्टर व्यवसायी संघले विरोध जनाएको छ ।

ट्याक्टर व्यवसायी संघका अध्यक्ष करन बोगटीले गत बर्षको भन्दा ४५ रुपैयाँ प्रतिघनमिटर रोयल्टी बढाएपछि विरोधमा उत्रिएको बताए । उनले गत बर्ष नगरपालिकाले ७५ रुपैयाँ प्रति घनमिटर रोयल्टी लिने गरेकोमा यो बर्ष १२० पुगाइएको बताए ।

गोदावरी नगरपालिकाका सूचना अधिकारी शिवराज भाटले भने प्रदेशबाट नै भ्याट बाहेक १०६ रुपैयाँ तोकिएर आएकाले सोही अनुसार भ्याट सहित १२० रुपैया प्रति घनमिटर शुल्क कायम गरिएको बताए । उनले उक्त दररेट प्रदेशका सबै पालिकामा लागु हुने बताए ।
नगरपालिकाले टेन्टर खोल्दा पनि ठेकेदार नपाएपछि आजदेखि आफै रोयल्टी संकलन गरिरहेको छ । सूचना अधिकारी भाटले लामो समयदेखि नदीजन्य पदार्थ संकलन रोकिदा विकास निर्माणका काम रोकिन थालेपछि आफैले रोयल्टी उठाएर नदीजन्य पदार्थ संकलन सुरु गरिएको बताए ।
यद्दपी नगरपालिकाले नदीजन्य पदार्थ संकलनका लागि आज पुनः ७ दिन सूचना निकालेर टेन्टर आह्वान गरेको छ । जसमा न्युनतम बोलपत्र रकम ४ करोड तोकिएको छ । ४ करोड रकम तोकेर नगरपालिकाले दोस्रो पटक सूचना निकालेको हो । यसअघि ७ करोड न्युनतम बोलपत्र रकम राखेर ३ पटक, ५ करोड ५० लाख न्युनतम बोलपत्र रकम राखेर २ पटक सूचना प्रकाशित गरेको थियो ।
गत बर्ष नगरपालिकाले दोस्रो पटक न्युनतम ५ करोड ५० लाखमा बोलपत्र आह्वान गरेकोमा ६ करोड २२ लाख २२ हजार २ सय २२ रुपैयाँमा ठेक्का सम्झौता भएको थियो । आर्थिक बर्ष २०७७÷०७८ मा भने नगरपालिकाले कोरोना महामारीका कारण ठेकेदार नपाएको भन्दै आफैले नदीजन्य पदार्थ बिक्रि शुल्क उठाएको थियो । जसमा ३ करोड मात्रै राजश्व संकलन भएको थियो ।
नदीमा बर्षेनी उत्खनन् गर्दा नदीजन्य पदार्थ कम पाउन थालिएपछि पछिल्लो समय ठेकेदारहरुले यसमा रुचि देखाउन छाडेका छन ।
