कर्ण सिंह धामी – मङ्सिर महिनाको त्यो कठोर जाडो सँगै कठ्यांग्रिएकी त्यी मेरी ‘आमा’ अध्यारो कालो रातभरि गोठमा चिच्याउंदै थिइन् । पेटमा सन्तानको भारी बोकेर चिच्याउंदै गरेकी ती आमाले मनमा सन्तानका लागी सपनाहरूको ठूलो जाल बुन्दै थिइन् ।

गोठमा – यता हर्थिन्, उता हेर्थिन् अनि आफूले पालेका गाईवस्तुको एकोहोरो (निहुल) भएर आफूलाई हेरेको देख्थिन रे ! गोठको ढोका नजिकै छेउतिर – पल्लाघरे काकी र मल्लाघरे हजुरआमा पनि बसेकी थिइन् अरे !’

हजुरआमाले भन्दै हुनुहुन्थ्यो ‘हामी महिलाको जातै यस्तै हो नानी – हामीले शरीरमा जति सुकै पीडा भए पनि मनमा सन्तानको माया सम्झेर यी दिन कटाउनु पर्दछ’ । तिमी भनेकी आज तिमीले जन्मदिने यो सन्तनकी माहतारी (आमा) हौं ।
आमा हुनु सक्नु भनेको संसारको एउटा महान धर्म हो । हजुरआमाको यी कुराहरू सँगै रातको तेस्रो प्रहर सुरु भइसकेको थियो । आमालाई बेथाले बेसरी च्याप्दै थियो तर पनि आमाको मनमा भएको सन्तानको मायाले पीडा सहने औषधि वनेको थियो ।
जब बिहानको ५ बज्यो तब आमाले मलाई यो धर्तीमा जन्म दिइन् । गाई गोठमा परालको ओछयानमा जन्मिएको म यस धर्तीमा पुग्नासाथ सकि–नसकी रुन थाले पछि आमाको मुहारमा रुन्चे हाँसो थियो । मेरी आमा म जन्मेको त्यो बिहानीमा जति खुसी भएकी थिइन् त्यति खुसी जीवनमा कहिलै हुन् पाइनन् ।
समय बित्दै गयो म हुर्किदै गए आमाले मामा, चाचा, बाबा भन्दै बोल्न सिकाइन ! हातमा हात खुट्टामा खुट्टा राख्दै हिँड्न सिकाइन ! आफ्ना रहरहरु बेच्दै मेरा सपनाहरु किनिन् । आफ्नो लागि होइन मेरो लागि बाँचिन् । मिठो मसिनो पाउँदा नि मेरै लागि साँच्नि ।
म जन्मेको दिनदेखि नै मेरी आमाले मलाई मात्र माया गरिन् । मेरो मात्र चिन्ता गरिन् । हुर्काउन, पढाउन, संस्कार सिकाउन, मेरी आमाले दिन रात भनिनन् । मेरा खुसी भित्र आफ्ना खुसी लुकाईन, आफ्ना जीवनका सपनाहरु मेरो सपनामा परिणत गरिन् । मेरी आमा भन्नु हुन्थियो ‘हेर बाबु मेरा सपना र रहरहरु अब केही छैनन् बाँकी रहेका तिमीले यो संसारमा असल र खुसी भएर बाँच्नु पर्छ यति हो मेरो चाहाना ।’
आमा जन्मदाता हुन । संसारमा सबैभन्दा ठूला भगवान नै आमा हुन् । कसैले पनि आमाको आँखामा आँसु देख्न नपरोस् जननी जन्मदातालाई माया गरौँ !
– कर्ण सिंह धामी सिगास – ५ बैतडी (धामी हाल सामुदायिक रेडियो अत्तरियामा प्राविधिक प्रमुखको रुपमा कार्यरत रहेका छन ।)