धनगढी – सुदूरपश्चिमको बाजुरा बाहेक ४ मंसिरमा भएको प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनको प्रत्यक्ष तर्फको अन्तिम मतपरिणाम सार्वजनिक भइसकेको छ । मतपरिणाम सार्वजनिक भएसँगै सुदूरपश्चिम प्रदेश सरकार गठनबारे चासो बढेको छ ।
प्रदेशसभाका प्रत्यक्षतर्फका ३२ सिटमध्ये परिणाम आउन बाँकी बाजुराका दुई क्षेत्र बाहेक ११ ठाउँमा जित्दै नेपाली कांग्रेस पहिलो दल बनेको छ भने ८ ठाउँमा जितेको नेकपा माओवादी केन्द्र दोस्रो दल बनेको छ । ५ क्षेत्र जितेको नागरिक उन्मुक्ति पार्टी तेस्रो, ३ क्षेत्र जितेको नेकपा एमाले चौथो र २ क्षेत्र जितेको नेकपा एकीकृत समाजवादी पाँचौं दल बनेको छ ।
डडेल्धुराको प्रदेशसभा (२) मा नेकपा एकीकृत समाजवादीबाट बागी उठेर स्वतन्त्र उम्मेदवारी दिएका ताराप्रसाद जोशी विजयी भएका छन् । उनलाई समाजवादी पार्टीले कारवाहीस्वरुप केन्द्रीय सदस्यबाट पदमुक्त गरिसकेको छ ।
समानुपातिकतर्फको मत गणना जारी छ । ५३ सदस्यीय प्रदेशसभामा समानुपातिकतर्फको मतपरिणाम नआउँदै प्रदेश सरकार गठनका लागि सत्तारुढ गठबन्धनको स्पष्ट बहुमत पुग्ने देखिएको छ । ३० क्षेत्रको नतिजाअनुसार गठबन्धनले २१ सिट जितेको छ । जबकी प्रदेश सरकार गठनका लागि २७ जना भए बहुमत पुग्छ । समानुपातिक तर्फको २१ सिटमा पनि गठबन्धनको बहुमत पुग्ने देखिएको छ ।
दलहरुबीच अहिलेकै गठबन्धनलाई निरन्तरता दिने गरी छलफल भइरहेकाले सुदूरपश्चिममा पनि गठबन्धन सरकार बन्ने सम्भावना बढ्दो छ । यहाँको प्रदेश सरकारको नेतृत्व कुन पार्टीले पाउँछ भागबण्डापछि मात्र थाहा हुनेछ । तर प्रदेश सरकारमा मुख्य दाबी भने नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रको हुने नेताहरुले बताइरहेका छन् । दुवै दलमा आकांक्षी रहेका नेताहरु प्रदेशसभा सदस्यमा निर्वाचित भएसँगै मुख्यमन्त्रीका लागि दौडधुप थालेका छन् ।
नेपाली कांग्रेसमा सुदूरपश्चिमका आन्तरिक मामिला तथा कानून मन्त्री डा.रणबहादुर रावल, सामाजिक विकास मन्त्री गोविन्दराज बोहरासहितका पाँच जना मुख्यमन्त्रीका दाबेदार थिए । तर मुख्यमन्त्रीको दौडमा रहेका रावल कैलाली–१ को प्रदेशसभा(२) र बोहरा डडेल्धुराको प्रदेशसभा(२) बाट हारेसँगै यो दौडबाट बाहिरिएका छन् ।
अब कांग्रेसबाट कञ्चनपुर–२ को (२) बाट प्रदेशसभामा निर्वाचित बहादुरसिंह थापा, कञ्चनपुर–१ को (२) बाट निर्वाचित दिवानसिंह विष्ट र कैलाली–२ को (१) बाट निर्वाचित कमल शाह मुख्यमन्त्रीका प्रमुख दाबेदारका रुपमा देखिएका छन् । कैलाली–५ को प्रदेशसभा (२) बाट विजयी भएका प्रकाशबहादुर देउवालाई पनि मुख्यमन्त्री बनाउनुपर्ने स्वर कांग्रेसभित्र सुनिन थालेको छ ।
नेकपा माओवादी केन्द्रमा भने डडेल्धुराबाट निर्वाचित खगराज भट्ट निर्विकल्प मुख्यमन्त्रीको दाबेदार भएको नेताहरु बताउँछन् । हाल निर्वाचन जितेकामध्ये उनै सबैभन्दा सिनियर भएकाले भट्टलाई मुख्यमन्त्री बनाउने कुरामा दुई मत नभएको एक नेताले बताए । मुख्यमन्त्री बनाउने शर्तमा नै भट्टले डडेल्धुराको प्रतिनिधिसभामा शेरबहादुर देउवालाई छाडेको चर्चा पनि छ ।
नेकपा एकीकृत समाजवादी पार्टीबाट भौतिक पूर्वाधार विकास मन्त्री समेत रहेका दीर्घबहादुर सोडारीले पनि मुख्यमन्त्रीमा आकांक्षा देखाएका छन् । उनी कैलाली–४ को प्रदेशसभा(१) बाट पुनः निर्वाचित भएका छन् ।
तर सत्तारुढ गठबन्धनमा केन्द्रदेखि प्रदेशसम्म के–कसरी भागबण्डा मिल्छ भन्ने कुरामा सुदूरपश्चिम सरकारको अगामी नेतृत्व कसले पाउँछ, भन्ने कुरा टुंगोमा पुग्नेछ ।