बाजुरा – बाजुरामा निर्वाचनको दिन दुई जनाको मृत्यु भएको घटना छानबिन गर्न गृह मन्त्रालयले सहसचिव प्रेमप्रसाद भट्टराइको नेतृत्वमा छानबिन समिति गठन गरेको छ । भट्टराई नेतृत्वको समितिले बाजुरामा पुगेर घटनाबारे अनुसन्धान थालेको गृह मन्त्रालयका एकजना उच्च अधिकारीले रातोपाटीलाई बताए । समितिमा नेपाल प्रहरीका डीआईजी भीम ढकाल, सशस्त्रका डीआईजी अभि खत्री, राष्ट्रिय अनुसन्धान विभागका अनुसन्धान निर्देशक भीम बुढाथोकी र महान्यायाधिवक्ता कार्यालयका उपन्यायाधिवक्ता सन्तोष कटुवाल सदस्य छन् ।
बाजुराको त्रिवेणी नगरपालिका˗७ मा स्थित नाटेश्वरी मतदान केन्द्रमा झडप हुँदा प्रहरीले चलाएको गोली लागेर २६ वर्षीय सन्दिप ऐडीको घटनास्थलमा मृत्यु भएको थियो । निर्वाचन सकेर घर फर्कँदै गरेका नेपाल कम्युनिष्ट पार्टी (एमाले) को भातृसंगठन अनेरास्ववियुका सचिवालय सदस्य चेतन ऐडीको कुटपिटबाट मृत्यु भएको छ ।
कुटेर हत्या गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ । प्रहरी प्रवक्ता (एसएसपी) दानबहादुर कार्कीका अनुसार पक्राउ पर्नेमा त्रिवेणी नगरपालिका˗ ७ घर भएका २७ वर्षीय रुपा चौधरी ऐडी र सोही ठाउँ बस्ने १८ वर्षीय किशोर छन् ।
त्रिवेणी नगरपालिका–७ मालाकोटका ३२ वर्षीय चेतनमाथि सामूहिक रुपमा बाजपानी र घरमा कुटपिट भएको थियो । कुटपिट हुँदा गम्भीर घाइते भएका ऐडीको अछाम बयलपाटास्थित न्याय हेल्थ अस्पतालमा उपचारको क्रममा मृत्यु भएको थियो ।
चेतनका परिवारले सोमबार शव जिम्मा लिएको एसएसपी कार्कीले जानकारी दिए । रातोपाटीसँग कुरा गर्दै कार्कीले भने- ‘परिवारका सदस्यले शव जिम्मा लिएर दाहसंस्कार गर्नुभएको छ ।’
प्रधानमन्त्री शेरबहादुर देउवाले आईजीपी धिरजप्रताप सिंह र सशस्त्र प्रहरी प्रमुख राजु अर्याललाई बोलाएर सो हत्यामा संलग्नलाई कानुनी दायरामा ल्याउन निर्देशन दिएका छन् । चेतनको हत्या आरोपमा जिल्ला प्रहरी कार्यालय बाजुरामा २२ जना विरुद्ध किटानी जाहेरी दर्ता गरिएको छ ।