अत्तरिया – कैलाली क्षेत्र नम्बर ४ बाट राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले प्रत्यक्ष भन्दा समानुपातीकमा दोब्बर बढी मत पाएको छ । देशभर समानुपातीकमा अनेपेक्षित रुपमा बढी मत पाइरहेको रास्वपाले खासै संगठन बिस्तार हुन नसकेको यस क्षेत्रबाट पनि उल्लेख्य मत पाएको छ ।
रास्वपका प्रतिनिधि सभा उम्मेदवार गोबिन्द प्रसाद भट्टले प्रत्यक्षमा २ हजार २२१ मत मात्रै पाएका थिए । जबकी उक्त पार्टीले यस क्षेत्रबाट समानुपातिकमा ४ हजार ६७९ मत पाएको छ । जुन प्रत्यक्षमा पाएको मत भन्दा दोब्बर बढी हो ।
उता प्रत्यक्षमा चुनाव लडेका ठूला दलहरुको मत भने समानुपातिकमा घटेको छ । प्रत्यक्षमा सबैभन्दा बढी मत पाएका कांग्रेसले समानुपातिकमा करिब १० हजार कम मत पाएको छ । कांग्रेसले प्रत्यक्षमा २६ हजार २२० मत पाएकोमा समानुपातिकमा १६ हजार ६४३ मत मात्रै पाएको छ । कांग्रेसले गठबन्धका कारण प्रत्यक्षमा बढी मत पाएकोले समानुपातिकमा कम मत आएको आकलन गरिएपनि उता नेकपा एमालेको मत पनि घटेको छ । एक्लै प्रत्यक्षमा चुनाव लडेको एमालेको पनि समानुपातिकमा करिब करिब साढे ३ हजार कम मत आएको छ । एमालेले प्रत्यक्षमा २२ हजार ६१३ मत पाएको थियो भने समानुपातिकमा भने १९ हजार ६३ मत मात्रै पाएको छ ।
प्रत्यक्षमा तेस्रो बनेको नागरिक उन्मुक्ति पार्टीको पनि समानुपातिकमा केही मत कम आएको छ । नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा ६ हजार २१८ मत पाएकोमा समानुपातिकमा ५ हजार ९९३ मत पाएको छ ।
राप्रपाको भने रास्वपा जस्तै समानुपातिकमा केही मत बढेको छ । उसले प्रत्यक्षमा १ हजार ४६५ मत मात्रै पाएकोमा समानुपातिकमा भने २ हजार २८७ मत पाएको छ । यसरी हेर्दा प्रत्यक्षमा ठूला दललाई मत दिएका मतदाताले समानुपातिकमा भने धेरैले रास्वप र राप्रपालाई रोजेको देखिन्छ ।
प्रतिनिधि सभामा प्रत्यक्ष उम्मेदवार नउठाएको गठबन्धनको दल नेकपा माओवादीले समानुपातिकमा चौथो स्थान बनाएको छ । उसले एमाले, कांग्रेस र नागरिक उन्मुक्ति पार्टी भन्दा कम ५ हजार ३ सय १८ मत पाएको छ । यस्तै गठबन्धनमै रहेको नेकपा एकीकृत समाजवादीले ४ हजार ५४१ र जनमोर्चाले ७३८ मत पाएको छ । समानुपातिकमा ४८ दल रहेकोमा अन्य ४० दलले कैलाली क्षेत्र नम्बर ४ बाट जम्मा १ हजार मत मात्रै पाएका छन ।