देश बनाउन गठबन्धन गरेका हौ : कांग्रेस नेता एनपी साउद
कञ्चनपुर – नेपाली कांग्रेसका नेता एनपी साउदले देश बनाउन गठबन्धन गरेको बताएका छन । कञ्चनपुर २ मा पर्ने कृष्णपुर नगरपालिका– २ मा शुक्रबार बिहान आयोजित चुनावी कार्यक्रममा बोल्दै उनले सत्ता गठबन्धन दलहरुले देश बनाउनका लागि चुनावी तालमेल गरेको बताएका हुन ।
उनले गठबन्धनको उद्देश्य सरकार बनाउने मात्रै नभएको बताए । ‘गठबन्धनको उद्देश्य सरकार बनाउने होइन । हुन्थ्यो भने हामी चुनावपछि संसदमा गएर यो गठबनधन गर्थ्यौं’, नेता साउदले भने, ‘हाम्रो उद्देश्य देश बनाउने हो ।’
देश निर्माण गर्न कांग्रेसले जनताको विश्वास जितेर स्थिर सरकार बनाउने लक्ष्यका साथ गठबन्धनमा रहेका दलहरुलाई साथ लिएर हिँडेको उनले बताए ।
‘देश बनाउन गठबन्धनका दलहरु एक ठाउँमा आएर जनताबाट अनुमोदित भएर स्थिर सरकार बनाउने लक्ष्यका साथ नेपाली कांग्रेस अगाडि बढेको छ’, साउदले भने ।