अत्तरिया – कैलालीको गोदावरी नगरपालिका – ५ गेटाबाट करिब १३ हजार बराबरका अखाद्य सामग्री बरामद गरिएको छ । बिहिबार नगरपालिकाकी उपप्रमुख शारदा रोकाया सहितको टोलीले गरेको अनुगमनबाट १२ हजार ८ सय ४ रुपैया बराबरका अखाद्य सामग्रीहरु बरामद गरिएको हो ।
नगरपालिकाका पशु सेवा शाखाका कर्मचारी टेक शाहुले अनुगमन गरिएका ४ वटा पसलबाट मात्रै यती धेरै मात्रामा म्याद नाघेका अखाद्य बस्तुहरु फेला परेको बताए । उनले अनुगमनका क्रममा गेटाको एउटै पसलबाट मात्रै ८ हजार भन्दा बढीका म्याद नाघेका अखाद्य बस्तूहरु बरामद गरिएको बताए । उनले उक्त पसलबाट अन्य प्रयोगका लागी राखिएका तर म्याद सकिएका बस्तुहरु पनि बरामद गरिएको बताए । उनका अनुसार सम्भवत हालसम्मको अनुगमनमध्ये सबै भन्दा बढी सामग्री बरामद गरिएको पनि सोही पसलबाट नै हो ।
नगरपालिकाले यस अघि दशैको मुखमा अनुगमन थालेको थियो । अनुगमन पश्चात बोल्दै नगरउपप्रमुख शारदा रोकायाले बजारमा म्याद नाघेका सामग्रीहरु धेरै भेटिएकाले अनुगमनलाई निरन्तरता दिएको बताईन । उनले म्याद नाघेका सामग्रीले गर्दा नागरिकहरुको स्वास्थ्यमा समस्या उत्पन्न हुने भएकाले ति सामग्रीहरु बरामद गरेर नष्ट गरिने बताईन ।
‘ग्राहकहरुले म्याद नहेरेर नै सामग्रीहरु किन्नुहुन्छ, जसका कारण म्याद नाघेँको सामग्रीले स्वास्थयमा असर गर्ने गर्दछ’ उनले भनीन ‘यस्तो अवस्थामा नागरिकको स्वास्थ्यलाई ख्याल गर्दै अनुगमन थालिएको हो ।’ म्याद नाघेका र अखाद्य बस्तु फेला परेका व्यवसायीहरुलाई पहिलो पटक सचेतना गर्ने र दोस्रो पटक कारबाही थालिने उनले बताईन ।
यसका साथै उनले व्यापारीहरुले व्यवसाय दर्ता गरेका छन की छैनन भन्ने विषयमा पनि अनुगमन थालिरहेको बताईन । उनले दर्ता नभएका व्यवसायहरुलाई दर्ता प्रकृया ल्याईने पनि बताईन ।