टीकापुर – कैलालीकी दिव्या रावललाई साना–साना कुरामा रिस उठ्छ । उनलाई तनाव व्यवस्थापन गर्न धेरै महँगो पर्छ । उनलाई भनेजस्तो र सोचेजस्तो नभएपछि हुने तनावले रिसको रुप लिन्छ । रिसलाई व्यवस्थापन गर्न उनले आफ्ना लुगाकपडा कोठाभरि छर्ने, भाडाकुँडा घरबाहिर फाल्नेलगायतका कार्य गर्छिन । ‘म रिसाएका बेला आँखा अगाडि जे फेला पर्छ त्यसैलाई हिर्काउँछु । पहिले सामान फाल्छु, पछि रिस शान्त भएपछि फेरि स्याहार्छ,’ दिव्या भन्छिन ‘यसरी रिसाउनु नराम्रो भन्ने थाहा छ तर पनि रिसाएको बेला यस्ता कार्य गरिहाल्छु । केही नोक्सान गरेपछि रिस शान्त हुन्छ ।’
मानिसको जीवनमा रिस, क्रोध, पीडा, माया, प्रेम हुन्छ । त्यति नभए जीवन चल्दैन । रिस, आवेग, सुख, दुःख, अभावजस्ता विभिन्न कुराको मिश्रणले जीवन चलिरहेको हुन्छ । तर मानिस रिस उठ्दा आत्तिने, खुसी हुँदा मात्तिने धेरै हुन्छन् । कैलालीकै रमा चौधरीलाई पनि रिस धान्न निकै कठिन हुन्छ । ‘मलाई मैले भनेजस्तो नभएमा निकै पीडा हुन्छ । म गल्ती गर्दिन, म सही हुँदाहुँदै पनि मलाई गलत बनाइयो भने सहन साह्रै गाह्रो हुन्छ’ उनले भनिन ‘यस्तो बेलामा म कोठाभित्रै बस्छु, आफूलाई एक्लो राख्छु, कसैसँग कुरा गर्दिन, कुनै काम पनि गर्दिन ।’
रिस तथा तनावमा भएका बेला एक्लो बस्ने वा अरुसँग समय बिताउने पनि हुन्छन् । कसैले तनावका बेला आफूलाई व्यस्त राख्ने काम पनि गर्छन् । शिक्षिका ज्ञानु पौडेल भने रिस तथा तनाव बढी भएका बेला पूजाकोठामा समय बिताउने, भक्कानिएर रोएर पीडा कम गर्ने गर्छिन । ‘जीवन हो कहिलेकाहीँ तनाव, रिस, खुसीजस्ता कुरा भइरहन्छन्, म तनाव भएका बेला पूजाकोठामा समय बिताउँछु, ध्यान गर्छु, रुन्छु अनि शान्त हुन्छ’ उनले भनीन ‘तनाव विभिन्न कारणले हुन्छ, म रिसाउनुका कारण खोज्छु, ्युटुबमा सोसँग सम्बन्धित कुराहरु खोजेर पढ्छु, फेसबुक तथा सामाजिक सञ्जालमा बढी व्यस्त रहन्छु र आफूलाई शान्त पारेर दैनिक जीवनमा फर्कन्छु ।’
अर्की शिक्षिका लक्ष्मी कुँवर भने तनाव तथा रिसलाई फकर तरिकाले व्यवस्थापन गर्छिन । उनि रिसाएका बेला सरसफाइमा बढी व्यस्त रहन्छीन । ‘मलाई तनाव भएका बेला कसैसँग गफगाफ गर्दिन, रात दिन नभनीकन घर सरसफाइ गर्छु’ उनले भनीन ‘नियमित सबै काम गर्छु, खाना पकाउँछु, सबैलाई खुवाउँछु, तर पटकपटक घर सरसफाइ गर्छु, घर चिटिक्क भएमा त्यसै रिस शान्त हुन्छ ।’
त्यस्तै, वीरेन्द्र बहुमुखी क्याम्पस टीकापुरकी प्राध्यापक कलावती स्वाँर पनि तनाव भएका बेला सामाजिक सञ्जालमा व्यस्त रहने, तनावको समाधान खोज्ने काम गर्छिन । ‘तनाव हुनुको कारण खोजी गर्छु, समाधानका उपाय खोज्छु’ उनले भनिन ‘रिसाएका बेला केही न केही हानि त हुन्छ । रिसले नोक्सान हुन दिनुभएन भन्नेमा सचेत रहन्छु ।’
अर्की शिक्षिका ललिता शाहीले भने रिसाएका बेला बालबालिकासँग समय बिताउने गरेको सुनाईन । ‘विद्यालयमा रिस उठ्दा साना कक्षाका बालबालिकासँग कुराकानी गर्ने, खेल्ने गर्छु । घरमा पनि तनाव भएमा वरिपरिका साना बालबालिकासँग समय बिताउँछु’ उनले भनीन ‘बालबालिका सिर्जनशील हुन्छन्, उनीहरुसँग भुल्दा मलाई नयाँ सिकाइ हुन्छ । रिसाएको समय बितेपछि आफैँ सम्हालिन सकिन्छ ।’
रिसाएका बेला मानिसले जे पनि गर्न सक्छ । यही मानिसलाई रिस उठ्दा तनाव हुन्छ । तनाव भएका बेला मानिस मर्न पनि सक्छ र मार्न पनि सक्छ । रिसलाई समयमै व्यवस्थापन गर्न नसके दुर्घटना हुनसक्छ । दुर्घटना हुने मुख्य कारण तनाव पनि हो । तनावलाई समयमै व्यवस्थापन गर्न नसक्दा मानिसले ज्यानै लिने र दिनेजस्ता घटना हुने गरेका मनोसामाजिक परामर्शदाता धनराज विकले बताए । ‘मानिसको यही दिमागले मर्छ, यही दिमागले मानिसलाई मार्छ, अन्य नोक्सानको त कुरै नगरौ’ उनले भने ‘त्यसैले तनावलाई सिर्जनासँग जोड्नुपर्छ । तनाव भएका बेला मानिसले सिर्जनशील काममा व्यस्त रहनुपर्छ । यसले नोक्सान हुनबाट जोगाउँछ ।’ रासस