सुदूरपश्चिमका उपसभामुख र पूर्वमन्त्रीले अझै फिर्ता गरेनन् सरकारी गाडी

धनगढी – सुदूरपश्चिम प्रदेशमा उपसभामुखसहितका प्रदेश सभा पदाधिकारीले सरकारी सुविधावापत पाएको सरकारी गाडी अझै फिर्ता नगरेको पाइएको छ ।

maya metro hospital

उपसभामुख निर्मला जोशी बडाल र प्रमुख प्रतिपक्षी दल नेकपा एमाले संसदीय दलका नेता प्रकाश शाहले सरकारी सुविधावापतको गाडीसहितका सामान फिर्ता नगरेको पाइएको हो ।

प्रदेश सभा सचिवालय स्रोतका अनुसार सभामुख अर्जुनबहादुर थापासहित विषयगत समितिका सभापति, सत्तापक्षीय दलका प्रमुख सचेतक, विपक्षी दलका प्रमुख सचेतकले सुविधावापत पाएका गाडी फिर्ता गरेपनि उपसभामुख बडाल र शाहले भने अहिलेसम्म प्रयोग गरिरहेका छन् ।
प्रदेश सभा सचिवालयका सूचना अधिकारी युवराज जैशीले उपसभामुख बडालले प्रयोग गर्दै आएको से १ झ २७७ नम्बरको स्कर्पियो गाडी, सुपप्र ०१००१ ब १४४५ नम्बरको स्कुटर, दुई वटा मोबाइल र ल्यापटप तथा शाहले प्रयोग गर्ने से १ झ २९९ नम्बरको स्कर्पियो गाडी र ल्यापटप अहिलेसम्म फिर्ता नभएको पुष्टि गरे ।

attariya hospital

उपसभामुख बडालले अहिलेसम्म सरकारी निवास प्रयोग गरिरहेकी छन् । बडालले प्रदेश सभा सचिवालयलाई फिर्ता नगरेपनि आफूले प्रयोग भने नगरेको दाबी गरिन् ।

‘गाडी लगायतका सरकारी सुविधा फिर्ता गर्नुपर्ने स्पष्ट कानुनी व्यवस्था नभएकाले अन्योल भएको हो । मैले फिर्ता नगरेपनि दुई महिनादेखि प्रयोग गरेकी छैन,’ उनले भनिन्, ‘उम्मेदवार नबनेपछि छोड्नैपर्छ भन्ने पनि छैन नि !’

यस्तै, सार्वजनिक लेखा समितिकी सभापति नन्दा बमले सरकारी गाडी फिर्ता गरेपनि सचिवालयबाट बुझेको ल्यापटप र प्रिन्टर फिर्ता गरेकी छैनन् ।

कार्यकाल सकिएपछि कानुनतः फिर्ता गर्नुपर्ने प्रदेश सभा सदस्यको लोगो भने कसैले पनि फिर्ता नगरेको प्रदेश सभा सचिवालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.