कैलालीका ३ निर्वाचन क्षेत्रमा गठबन्धन र एमालेलाई नागरिक उन्मुक्ति भारी

धनगढी –   कैलालीको तीन वटा निर्वाचन क्षेत्रमा सत्ता गठबन्धन र विपक्षी एमालेसहितलाई नागरिक उन्मुक्ति पार्टी भारी पर्ने देखिएको छ । नागरिक उन्मुक्ति पार्टीको कैलालीको निर्वाचन क्षेत्र नम्बर १, २ र ३ मा बलियो जनाधार देखिएको छ ।

maya metro hospital

गत स्थानीय तहको निर्वाचनमा समेत उन्मुक्ति पार्टीले प्रमुख/उपप्रमुख पदसहित अधिकांश वडा जितेको छ । मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा सहभागी भएका सत्ता गठबन्धन र विपक्षी एमालेका उम्मेदवारले समेत आफ्नो प्रतिस्पर्धामा नागरिक उन्मुक्ति रहेको बताएका छन् । उन्मुक्ति पार्टीले समेत आफ्नो जितको बलियो आधार उक्त ३ वटै निर्वाचन क्षेत्रलाई मानेको छ ।

निर्वाचन क्षेत्र १ मा उन्मुक्ति पार्टीले अध्यक्ष रन्जिता श्रेष्ठलाई प्रतिनिधिसभा सदस्य पदमा उम्मेदवार बनाएको छ । । रेशम चौधरी २०७४ मा निर्वाचन क्षेत्र १ बाट निर्वाचित भएका थिए । उनी आफ्नै श्रीमान्को निर्वाचन क्षेत्रबाट चुनाव लडेकी छन् । टीकापुर हिंसात्मक घटनाको जिल्ला अदालतबाट जन्मकैदको फैसला सुनाइएका चौधरी पक्राउ पर्ने डरले २०७४ को निर्वाचनमा आफ्नो निर्वाचन क्षेत्रमा नआई गरेको प्रचारको माध्यमबाटै २०७४ मा प्रतिनिधिसभा सदस्य पदमा ठूलो मतान्तरका साथ विजयी भएका थिए । गएको स्थानीय तहको निर्वाचनको परिणामलाई हेर्दासमेत अध्यक्ष श्रेष्ठ आफू जित्नेमा ढुक्क भएको बताएकी छन् ।

attariya hospital

निर्वाचन क्षेत्र १ को सबैभन्दा बढी मतदाता रहेको टीकापुर नगरपालिकाको मेयरसहित अधिकांश वडा उन्मुक्तिले जितेको छ । जानकी गाउँपालिकाको अध्यक्ष/उपाध्यक्षसहित वडाध्यक्षमा पनि उन्मुक्ति पार्टीकै बहुमत छ । स्थानीय तहको निर्वाचनमा पनि सत्ता गठबन्धन थियो । टीकापुर नगरपालिकाभित्र वडाअध्यक्षले प्राप्त गरेको मतअनुसार भने उन्मुक्ति पार्टीको मत सत्ता गठबन्धनको भन्दा बढी छैन ।

वडाध्यक्षमा सत्ता गठबन्धनले १५ हजार ९१ मत पाएको छ । उन्मुक्ति पार्टीले १३ हजार १ सय ३९ मत पाएको छ । विपक्षी दलका वडाध्यक्ष उम्मेदवारहरूले ७ हजार १ सय ९५ मत प्राप्त गरेको छ । आगामी प्रतिनिधिसभाका लागि सत्ता गठबन्धनबाट कांग्रेसका थारू नेता रामजनम चौधरीलाई उम्मेदवार बनाइएको छ । उनी २०७४ मा क्षेत्र नम्बर ३ बाट तत्कालीन लोकतान्त्रिक फोरमबाट चुनाव जितेका थिए ।

थारू समुदायका धेरै मत विभाजन गर्न सक्ने आधारमै गठबन्धनले रामजनमलाई टिकट दिएको बताएको छ । रामजनम स्वयं आफू जित्ने दाबी गर्छन् । ‘नागरिक उन्मुक्तिको थारू सेन्टिमेन्टको राजनीति गरिरहेको छ,’ उनले भने, ‘तर आफ्नो हकमा थारू सेन्टिमेन्टको राजनीति सफल हुनेवाला छैन ।’ एमालेले तपेन्द्रबहादुर रावललाई प्रतिनिधिसभाको प्रतिस्पर्धामा उतारेको छ ।

टीकापुर क्षेत्रमा थारू समुदायको ४० प्रतिशत र अन्यको ६० प्रतिशत मत छ । प्रदेशसभातर्फ गठबन्धनबाट निर्वाचन क्षेत्र १ को प्रदेशसभा (१) बाट आन्तरिक मामिलामन्त्री डा. रणबहादुर कांग्रेसबाट र निर्वाचन क्षेत्र १ को प्रदेशसभा (२) बाट माओवादीका दीर्घराज बिनाडी छन् । गठबन्धनले प्रतिनिधिमा थारू र प्रदेशमा पहाडीलाई उम्मेदवार बनाएको छ ।

क्षेत्र नम्बर १ मा पर्ने जानकी गाउँपालिकामा नागरिक उन्मुक्तिसँग कम मत छ । वडाध्यक्षमा पाएको मतका आधारमा उन्मुक्ति पार्टीका ५ हजार ३ सय ३८ र गठबन्धनसँग ७ हजार १ सय मत छन् । एमालेसँग ४ हजार ४ सय मत छन् । कैलालीको निर्वाचन क्षेत्र नम्बर २ मा नागरिक उन्मुक्ति पार्टी प्रतिस्पर्धाको नजिक भए पनि जित्ने बलियो आधार भने छैन । उक्त निर्वाचन क्षेत्रमा पर्ने लम्की चुहा नगरपालिका र बर्दगोरिया गाउँपालिकामा स्थानीय तहको निर्वाचनमा प्रमुख पदमा सत्ता गठबन्धन र विपक्षी एमालेले जितेको छ ।

लम्की चुहामा मेयरमा गठबन्धनबाट कांग्रेसकी सुशीला शाही र बर्दगोरियाको अध्यक्षमा एमालेका कर्णबहादुर कुँवर विजयी भएका थिए । लम्की चुहाको उपमेयरमा एमाले र बर्दगोरियाको उपाध्यक्षमा नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार जितेका थिए । अधिकांश वडामा गठबन्धन तर एमाले जितेको छ । केही वडामा मात्रै नागरिक उन्मुक्तिले जितेको छ ।

स्थानीय तहको वडाध्यक्षले पाएको मतका आधारमा पनि लम्की चुहा नगरपालिकामा गठबन्धन र विपक्षी एमालेले पाएको मतको तुलनामा उन्मुक्ति थोरै छ । उक्त नगरपालिकाभित्र गठबन्धनका १० हजार बढी मत छन् । नागरिक उन्मुक्तिको २ हजार जति मात्रै छ । एमालेले वडाध्यक्षमा पाएको मत ७ हजार २ सय ३३ छ । बर्दगोरियामा स्थानीय तहका वडाध्यक्षमा पाएको मत गठबन्धनसँग ५ हजार ५ सय बढी र उन्मुक्तिको २ हजार १ सय बढी छ । एमाले एक्लै वडाध्यक्षको मत ३ हजार ४ सय छ ।

निर्वाचन क्षेत्र २ मा कांग्रेस माओवादी र एमाले ठूलो पार्टीकै मत बढी भए पनि कांग्रेस र एमालेबाट विद्रोह गरेका नेतालाई उन्मुक्ति पार्टीले उम्मेदवार बनाएको छ । प्रतिनिधिसभामा कांग्रेस छोडेर गएका अरुण चौधरीलाई उन्मुक्ति पार्टीले उम्मेदवार बनाएको छ । प्रदेशसभामा एमालेका पूर्वजिल्ला अध्यक्ष रतन थापालाई उम्मेदवार बनाएको छ । यहाँ गठबन्धनबाट माओवादीका भगतबहादुर बडुवाल र एमालेका झपटबहादुर रावल उम्मेदवार छन् । क्षेत्र नम्बर ३ मा पनि गठबन्धन, एमालेका लागि नागरिक उन्मुक्ति पार्टी भारी देखिएको छ ।

गठबन्धनबाट माओवादीका कृष्णबहादुर चौधरी प्रतिनिधिसभामा उम्मेदवार छन् । उनी पूर्वसंविधानसभाका सदस्य पनि हुन् । उक्त क्षेत्रबाट उनी संविधानसभाबाट निर्वाचित भएका थिए । माओवादीले २०६४ देखि लगातार चुनाव जित्दै आएको कैलालीको क्षेत्र नम्बर ३ नै हो । नागरिक उन्मुक्तिबाट गंगाबहादुर चौधरी प्रतिनिधिसभाका उम्मेदवार छन् । निवर्तमान सांसद गौरीशंकर चौधरी एमालेबाट उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.