पोखरा – सुदूरपश्चिमकी शुभेच्छा चौधरी सोमबार आफ्नो दौड सकिएलगत्तै पोखरा रंगशालाको ट्र्याक छेवैको घाँसमा ढल्न पुगिन । खुट्टा सुमसुम्याउन थालिन । लडीबुडी गरिन् । प्रशिक्षकले उनको खुट्टा मसाज गरिदिए । आफ्नो टिमको दौड सकिएपछि उनलाई खेलाडीहरूले समातेर डो¥याउँदै प्यारापिटमा शीतल क्षेत्रमा पु-याए । उनले बोतल खोलेर थोरै पानी पिइन् र खुट्टामा खन्याइन ।
नवौं राष्ट्रिय खेलकुद २०७९ को प्रतिस्पर्धामा खाली खुट्टा दौडिएकीले शुभेच्छा शीतल स्थानमा बस्दा पनि झन्डै आधा घण्टासम्म छटपटाइरहेकी थिइन् । किन ? के भयो ? आाखा चिम्मै राखेर जीउ बटार्दै भनिन्, ‘खुट्टा पोल्यो ।’ अगाडिको कुर्सीमाथि खुट्टा राखेर बसेकी उनलाई महिला चार गुणा चार सय मिटर रिले (टिम स्पर्धा) मा खाली खुट्टा नै दौडिएपछि समस्या भएको थियो । यो राष्ट्रिय खेलकुदमा जुत्ताबिना खाली खुट्टा नै रंगशालाको ट्र्याकमा दौडिने एक्लो खेलाडी हुन ।
बेलौरी, कञ्चनपुरकी १४ वर्षीया उनी थोरै बोलिन्, ‘जुत्ता लाउनै मन लाग्दैन, लाएर खेल्ने बानी छैन । जिल्लाको छनोटमा पनि मैले जुत्ता लगाएकी थिइनँ । प्रदेशको छनोट पनि खाली खुट्टा नै खेलेकी थिएँ ।’ महाकाली स्कुलमा कक्षा ८ मा अध्ययनरत उनी खाली खुट्टाको दौडमा जिल्ला र प्रदेशमा सफलता हात पार्दै राष्ट्रिय खेलकुदसम्म आइपुगेकी हुन ।
सुदूरपश्चिमका एथलेटिक्स प्रशिक्षक रामचन्द्र जोशीले भने, ‘गाउाघरको समस्या त्यही त हो खाली खुट्टा नै दौडन खोज्छन् । उनले आफ्नो इच्छाअनुसार खाली खुट्टा दौडिएकी हो ।’ उनले थपे, ‘सुदूरपश्चिममा यस्तो सिन्थेटिक ट्र्याक छैन । त्यसैले यो ट्र्याकमा फिलिङ्स (महसुस गर्नका लागि) मात्रै खाली खुट्टा दौडिएकी हुन्, जुत्ता नभएर होइन । उनलाई राष्ट्रिय खेलकुद परिषद्ले जुत्ता (स्पोर्ट्स सुज), ट्र्याकसुट, टिसर्ट सबै सामग्री उपलब्ध गराएको छ ।’
गत असारमा दशरथ रंगशाला, काठमाडौंमा भएको राष्ट्रपति रनिङ शिल्ड (अन्तरस्कुल खेलकुद प्रतियोगिता) मा पनि खाली खुट्टा नै प्रतिस्पर्धा गरेर हाइजम्प र चार गुणा चार सय मिटर रिलेमा स्वर्ण पदक जितेकी थिइन । उनी नवौं राष्ट्रिय खेलकुदमा यिनै दुई स्पर्धामा सहभागी हुन पोखरा आएकी हुन् । आइतबार सम्पन्न हाइजम्पमा पनि खाली खुट्टा नै प्रतिस्पर्धा गर्दै १.३० मिटर नाघेर १३ खेलाडीमध्ये सातौं भएकी थिइन् । रिलेको हिट्स (प्रारम्भिक चरण) मा उनीसहित पवित्रा चौधरी, रविना धामी र माया साउदको टिमले ५ मिनेट ००.५३ सेकेन्ड निकालेर आफ्नो समूहको अन्तिम स्थानमा रहेको थियो । सुदूरपश्चिम यो स्पर्धामा सहभागी ९ टिममध्ये पनि अन्तिम स्थानमा रह्यो र प्रारम्भिक चरणबाटै बाहिरियो । त्यसैले आधुनिक ट्र्याकमा खाली खुट्टामै दौडिएकी शुभेच्छाको राष्ट्रिय खेलकुदको यात्रा पनि टुंगिएको छ ।
केही सहज महसुस गरेपछि शुभेच्छाले आफ्नो झोलाबाट जुत्ता हातमा लिइन्, ट्र्याकसुट लगाइन् । प्रतियोगितामा दौडँदा जुत्ता लाउन मन लाग्दैन ? छोटो जवाफ दिइन्, ‘नाई नाई ।’
खेलाडीलाई जसरी सजिलो हुन्छ, त्यसरी नै प्रतिस्पर्धा गर्न दिनुपर्ने प्रशिक्षक जोशीले बताए, ‘प्रतियोगितामा बारम्बार जुत्ता लगाएर प्रतिस्पर्धा गर्न अनुरोध गर्दा पनि खाली खुट्टा नै दौडन्छिन् । यहाँ पनि उनी आफैं खाली खुट्टा दौडन उत्साहित भएकी हुन्, जुत्ता नभएर होइन । उनलाई प्रतियोगितामा सजिलो खाली खुट्टामै हुन्छ । ट्रेनिङ भने जुत्ता लगाएरै गर्छिन् ।’ उनले शुभेच्छा सम्भावना भएको राम्रो खेलाडी रहेको बताए ।
खाली खुट्टै दौडन पाउँछ त ?
एथलेटिक्सका प्रतियोगितामा खेलाडीले खाली खुट्टा नै प्रतिस्पर्धा गर्न पाउँछ त ? एथलेटिक्सका मुख्य प्रशिक्षक (राष्ट्रिय खेलकुद परिषद्) चन्द्र गुरुङले भने, ‘पाउँछ, जुत्ता लाउनै पर्छ भन्ने छैन ।’ पूर्वमुख्य प्रशिक्षक सुशीलनरसिंह राणा भने फरक मत राख्छन्, ‘दशकौं पहिला ओलम्पिकमा पनि खाली खुट्टा दौडन्थे । अहिले सबै कुरा परिवर्तन भइसक्यो । पहिलो सागमा स्पाइक सुज (दौडन लगाइने विशेष किसिमको जुत्ता) भएर पनि अमिरी र जोद्धा खाली खुट्टा दौडिएका थिए । अचेल पनि कहिलेकाहीँ जुत्ताबिना दौडेको नदेखिने होइन । अन्तर्राष्ट्रिय प्रतियोगितामा खाली खुट्टा दौडन दिइँदैन । जुत्ताको स्पाइकका किला पनि चेक हुन्छ ।’
नेपालले अन्तर्राष्ट्रिय खेलकुदको सबभन्दा बृहत् प्रतियोगिता ओलम्पिकमा सन् १९६४ (टोकियो ओलम्पिक) देखि सहभागिता जनाउन थालेको हो । त्यस बेला गंगाबहादुर थापाले खाली खुट्टा नै टोकियोका सडकमा दौडिएका थिए । काठमाडौंमा सन् १९८४ मा भएको पहिलो दक्षिण एसियाली खेलकुद (साग) मा नेपालका अमिरीप्रसाद यादव र जोद्धा गुरुङ खाली खुट्टा नै दौडिएका थिए । अमिरीले २ रजत र जोद्धाले १ कांस्य जितेका पनि थिए । ६ वर्षअघि इटहरीमा भएको आठौं राष्ट्रिय खेलकुदमा पनि जयरानी चौधरी १ सय मिटरमा खाली खुट्टै दौडेपछि खुबै चर्चामा आएकी थिइन् । उनले यसपालि २ स्वर्ण जितेकी छन ।
कान्तिपुरबाट