अत्तरिया – कैलालीको गोदावरी नगरपालिकामा बस्ने एक युवक नक्कली लालपुर्जा बाडेर ठगी गरेको आरोपमा पक्राउ परेका छन । गोदावरी नगरपालिका–९ को खुटिया बस्ने ३६ वर्षीय डम्बरबहादुर ठगुन्ना नक्कली लालपुर्जा बाडेर करिब १६ लाख ठगी गरेको आरोपमा पक्राउ परेका हुन ।
दार्चुलाको मार्मा स्थायी घर भएका ठगुन्नले चुरे गाउँपालिका, गोदावरी नगरपालिका र कञ्चनपुरको भीमदत्त नगरपालिकाका गरी ३५ जनालाई ठगेको आरोप लागेको इलाका प्रहरी कार्यालय मालाखेतीका प्रमुख प्रहरी नायब उपरीक्षक (डीएसपी) रविन्द्र पाण्डेले बताएका छन ।
उनका अनुसार ठगुन्नाले ३५ जनाबाट ४५ हजार रुपैयाँका दरले रकम लिएर कैलालीको गौरीगंगा नगरपालिकामा एक कठ्ठा ऐलानी जग्गा खरिद गरिदिएको भन्दै नक्कली लालपुर्जा दिएका थिए ।
ठगुन्नाले ३५ जनाबाट लिएको १५ लाख ७५ हजार रुपैयाँ लिएर फरार भएपछि उनीहरुले ठगिएको थाहा पाएका थिए ।
उनीविरुद्ध पीडित मध्येका चुरे गाउँपालिका–५ बस्ने खड्कबहादुर पुन मगर, सुकलाल राना, हर्कबहादुर खत्री, गोपालबहादुर रोका, सुरेशबहादुर मगर, नेत्रबहादुर साउँद, नरबहादुर बोहरा, हरजित बोहरा,मान्ने बोहरा र चक्र बहादुर साउँद गरेर १० जनाले किटानी जाहेरी दिएका छन् ।
इलाका प्रहरी कार्यालय मालाखेतीले आरोपीत ठगुन्नाविरुद्ध अदालतबाट म्याद थप गरे घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।