नगद सहायता पाएपछि कैलालीका बाढी प्रभावित खुसी

भजनी – कैलालीको टीकापुर नगरपालिका–७ प्रतीपुरका दिलबहादुर दमाइँको अनुहारमा खुसी देखिएको छ । बाढीका कारण घरमा भएको अन्नपात तथा लगाएको धानबालीमा क्षति भए पनि उनको त्यस्तो निराशा थिएन । विपद् पूर्वानुमानमा आधारित बाढी पूर्वतयारी कार्यक्रमअन्तर्गत विश्व खाद्य कार्यक्रमले बाढीको जोखिममा रहेका परिवारलाई नगद सहायता लिएर बैंकबाट आएका दिलबहादुर केही दिनका लागि भए पनि परिवारको भोको पेट भर्न सकिने भएपछि खुसी भएका छन ।

maya metro hospital

‘गत वर्षको जस्तो क्षति यसवर्ष भएको तर पनि नगद राहतले घरको जोहो टार्न केही दिनका लागि सहज हुने भएको छ’ उनले भने ‘सबै गुमाउँदा पनि केही नपाएका हामीलाई अहिलेको राहतले ठूलो सहायता मिलेको छ ।’ सोही वडाको डिबिपुरका पतिराम चौधरीको ११ जनाको परिवार छ । कृषि कर्म गरेर जीविकोपार्जन गर्दै आएका पतिरामको अधिकांश अन्नबालीमा कर्णाली नदीको बाढी र डुवानले क्षति पु¥यायो । पाकेर भित्र्याउने अवस्थामा रहेको धानबाली डुबानमा परेपछि उनलाई गत वर्ष कात्तिक १ गतेको झल्को दियो । गतवर्ष कात्तिकमा गएको बाढीमा उनको सबै धान नष्ट भएको थियो ।

केही महिना पहिले गाउँमा कसैले घरको तथ्याङ्क लिएको समेत पतिराम भुलिसकेका थिए । गाउँमा चिरागीले बाढी प्रभावितलाई नगद सहायता प्रदान गर्ने खबर गरेपछि आफूले ठूलो राहतको महसुस गरेको पतिरामले बताए । ‘गतवर्ष त्यत्रो क्षति हुँदा कतैबाट केही सहयोग भएन । यसपटक पनि कतैबाट सहयोग हुँदैन भन्नेमा ढुक्क भएर बसेको थिएँ’ उनले भने ‘बाढी विस्थापितलाई पन्ध्र हजार सहायता पाउने थाहा भएपछि मनले शान्तिको सास फेरे । केही महिना परिवारलाई खानको लागि भौतारिनुपर्ने अवस्था नआउने भयो भनेर ।’

attariya hospital

जुगरानी चौधरी टीकापुर नगरपालिका–१ को गणेशपुर शिविरमा बस्दै आएका छन । आठ जनाको परिवार ज्याला मजदुरी गरेर दैनिकी चलाउने जुगरानीको कुनै खेतिपाती छैन । खेतीपाती गर्नलाई नत जग्गा नै । असोज २३ गतेको बाढीका कारण माटोले पोतेको कच्ची घरका भित्ता भत्काउनुका साथै घरमा भएको अन्नपात समेतमा क्षति पुगेपछि निराश भएकी जगरानीलाई पनि नगत सहायताले घरको चुलो बाल्न सहज हुने भएको छ । ‘

कतैबाट राहत पाइन्छ कि भन्ने आशामा बसेका थियौँं, नभन्दै केही महिनासम्मका लागि पुग्ने गरी सहयोग मिल्यो’ उनले भने ‘हामी पैसा नहुनेका लागि र दैनिक कमाएर जोहो चलाउनेका लागि १५ हजारले ठूलो सहयोग गरेको छ ।’ उता शोभा नेपालीले चाडपर्वको समयमा पैसा नभएकै कारण राम्रोसँग मनाउन नसकिएको दुःखेसो गर्दै तिहारलाई राम्रोसँग मनाउने सोच भएको बताए । ‘बाढी र डुबान हाम्रा लागि बर्सेनिको समस्या हो । यो समस्याबाट छुटकारा पाइएला जस्तो पनि लाग्दैन’ उनले भने ‘समस्या बर्सेनिको उस्तै । यसपटक समयमा सहयोग मिलेको छ । दसैँ त्यति राम्रो भएन, अब यसै पैसाले तिहारलाई राम्रो बनाउने र मीठो मसिनो खाने योजना बनाएकी छु ।’

यद्यपी बाढी पीडितले राहत नपाएको भन्दै दुःखेसो पनि गरेका छन् । नगरपालिका–१ एकतानगर शिविरका बलबहादुर विक आफ्नै आसपासका छिमेकिले राहत पाए पनि आफूले नपाएको गुनासो गरे । उनले बाढीका कारण क्षति बराबर हुँदा पनि कसैले पाउने कसैले नपाउने हुँदा आफूहरूलाई दुःख लागेको बताए । ‘अर्को पटक वितरण हुने राहतमा हाम्रो नाम पर्ला भन्नेमा विश्वस्त छौँ । आशा छ सबै प्रभावितलाई समान दृष्टिकोणले हेरिनेछ’ उनले भने ‘बाढीले अरुलाई जति समस्यामा पारेको छ, त्यति हामीलाई पनि पारेको छ । त्यसैले सबैलाई गर्ने व्यवहार समान होस् भन्ने हो ।’

पूर्वानुमानमा आधारित सूचना अनुसार गत वर्षको बाढीपछि अर्थात् तीन महिना पहिले सङ्कलन भएको तथ्याङ्कका आधारमा प्रभावित क्षेत्रका नागरिकलाई प्रतिपरिवार रु १५ हजारका दरले नगद सहायता गरिएको छ । विश्व खाद्य कार्यक्रम अन्तर्गत टीकापुरका दुई हजार नौ सय १६ र जानकीका एक हजार दुई सय परिवारलाई नगद सहयोग प्रतिपरिवार रु १५ हजारका दरले वितरण भइरहेको नेपाल रेडक्रस कैलालीका हेमराज उप्रेतीले जानकारी दिए ।

प्रभावित क्षेत्रका नागरिकको खातामा नगद सहायता पठाउने काम भइरहेको छ । उनीहरूको नाममा रकम गएको छ । रकम झिक्नका लागि सहायता कक्ष बनाएर सिफारिस दिने काम भइरहेको छ । नगद सहायता अहिले ८० प्रतिशत प्रभावितले पाउने र बाँकी २० प्रतिशतले एक महिनाभित्र पाउनेछन् ।

रासस

प्रतिक्रिया दिनुहोस

Your email address will not be published.